६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

२८ हजार ९०० अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट तीन जना पक्राउ



काठमाण्डाै ।

काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डौको नार्गाजुन नगरपालिका–१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया सङ्गीता लामा र सिन्धुपाल्चोककै लिसङ्खुपाखर गाउँपालिका–७ का ४७ वर्षीय विनोद लामा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

चाइना साउथेनको उडानमार्फत हिजो काठमाण्डौबाट चीनको ग्वाङझाउ जान लागेका उनीहरू डलरसहित पक्राउ परेका हुन् । प्रहरीले अनिता र सङ्गीताको साथबाट १०/१० हजार तथा विनोदको साथबाट ८ हजार ९०० डलर बरामद गरेको हो ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले थप अनुसन्धान एवम् कारबाहीका लागि ललितपुरको पुल्चोकमा रहेको राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२ शुक्रबार ००:००  ९ : १६ बजे