६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

लुम्बिनीका केही जिल्लामा हावाहुरीसहित वर्षा



काठमाण्डौ ।

आज लुम्बिनीका केही जिल्लामा हावाहुरीसहित वर्षा भएको छ । दाङ, बाँके, रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायतका जिल्लामा दिउँसो केहीबेर हावाहुरी चलेको हो ।

केहीबेर हावाहुरी चलेपछि ती क्षेत्रमा पानी परेको थियो । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै दाङको अम्बापुरमा ४२ मिलिमिटर वर्षा मापन भयो । त्यस्तै पछिल्लो तीन घण्टामा नवलपरासीमा ३०.६ मिलिमिटर वर्षा मापन भएको छ ।

लुम्बिनीसहित दिउँसो सुदूरपश्चिम र कर्णालीका केही जिल्लामा मेघगर्जन र चट्याङ्गसहित पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो एकैछिन हल्का वर्षा भएको काठमाण्डौ उपत्यकामा पनि बेलुकापख मेघगर्जनसहित पानी परेको छ । कतैकतै असिना पनि झरेकाे छ । 

पानी पार्ने प्रणाली उत्तर–पूर्वतिर सर्दै गइरहेको हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । आज मधेश र कोशीको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना कायमै छ । त्यस्तै भोलि विराटनगर, धरान, धनकुटा, इलाम र झापातिर ठूलो वर्षा तथा हावाहुरी चल्ने अनुमान गरिएको छ ।

हावाहुरी चल्दा गाडी नचलाउन, रुख तथा बिजुलीको खम्बा नजिक नबस्न तथा अनावश्यक बाहिर ननिस्कन विज्ञको आग्रह छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि र पर्सि आइतवारसम्म विभिन्न प्रदेशमा मेघगर्जन, असिना र हुरीसहित वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२ शुक्रबार ००:००  ५ : ३७ बजे