२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

आज धेरै ठाउँमा हावाहुरीसहित पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह



काठमाडौँ ।

आज देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले एक/दुई ठाउँमा ठूलो वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिनुभयो । अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको तथा आजदेखि थप बढ्ने भएकाले मौसमको अवस्थाअनुसार सावधानी अपनाएर काम गर्न अनुरोध गर्नुभएको छ ।

यसको असर पश्चिम नेपालमा बढी रहेको र ती क्षेत्रमा बिहानैदेखि असर गर्ने बताउनुभयो । उहाँका अनुसार दिउँसो त्यसको असर काठमाण्डौमा पनि आइपुग्ने छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू–भागका केही ठाउँहरुमा, मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना छ । मधेश, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भू–भागका केही ठाउँहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

भोलि पनि कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा तथा मधेश प्रदेशको एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२ बुधबार ००:००  ८ : ०४ बजे