कपिलवस्तु, वाणगंगा ।
वातावरणीय प्रदूषणको प्रमुख कारक मानिएको प्लाष्टिकको प्रयोगलाई न्यूनीकरण गर्दै कपिलवस्तुको वाणगंगा नगरपालिका–४ मा सिद्धार्थ वातावरण मैत्री कागज उद्योगु संचालनमा आएको छ । प्लाष्टिक मुक्त अभियानमा हाम्रो योगदान भन्ने मुख्य सन्देशका साथ शुरू भएको यस उद्योगले स्थानीय स्तरमै कागजजन्य वस्तुहरूको उत्पादन सुरु गरेपछि यस क्षेत्रमा सकारात्मक परिवर्तनको संकेत देखिएको छ ।
प्लाष्टिकको विकल्प र वातावरणीय संरक्षण
प्लाष्टिकको बढ्दो प्रयोग वातावरणका लागि ठूलो चुनौती भएको छ । पछिल्लो समय बजारमा प्लाष्टिकको अनियन्त्रित प्रयोगले वातावरणीय सन्तुलन बिगार्दै लगेको छ । यसै चुनौतीलाई मध्यनजर गर्दै सिद्धार्थ सामाजिक विकास केन्द्रले कागजलाई प्लाष्टिकको भरपर्दो विकल्पका रूपमा अघि सारेको हो । विभिन्न अध्ययन र बजारको सम्भाव्यता पहिचान गरेपछि संचालनमा ल्याइएको यस उद्योगले वातावरण संरक्षण मात्र नभई बजारको मागलाई समेत सम्बोधन गर्ने लक्ष्य राखेको छ ।
उत्पादीत बस्तु र बजारको माग
उद्योगले हाल बजारको आवश्यकता अनुसार विविध कागजजन्य सामग्रीहरू उत्पादन गरिरहेको छ । विशेषगरी अस्पतालमा चाहिने एक्सरे फाइल, कार्यालयमा प्रयोग हुने रेकर्ड फाइल, भोला र लिफाको माग हाल अत्यधिक छ। व्यापारिक प्रयोजन औषधि पाउच, फेन्सी झोला, कस्मेटिक झोला, दैनिक प्रयोजनका विभिन्न आकारका आकर्षक र टिकाउ कागजका झोलाहरू समेत उत्पादन हुदै अएको छ। उद्योगबाट उत्पादित यी कागजजन्य बस्तुको विभिन्न साइज अनुसारका प्रोडक्टहरूको मूल्य प्रति केजी ३ सयदेखि ४ सय रूपैया पर्न जान्छ ।
उद्योगकी बजार प्रमुख नवकुमारी मल्लका अनुसार बजारमा यी वस्तुहरूको माग यति उच्च छ कि माग अनुसारको आपूर्ति गर्न समेत गाह्रो परिरहेको छ । झोलाको साइज र बनावटका कारण उत्पादनमा केही समय लागे पनि यसबाट हुने आम्दानी र बजारको प्रतिक्रिया निकै उत्साहजनक रहेको बताइन ।
महिला उद्यमशीलता र स्थानीय रोजगारी
उद्योगमा रोजगारी पाउनेमा अधिकांश महिलाहरू छन् । घरायसी काममा सीमित महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरी उत्पादनमा जोडिएको छ । बजार विस्तारसँगै थप महिलाहरूलाई उद्यमी बनाउने र आयआर्जनको बाटो खोल्ने उद्योगको योजना छ । यस उद्योगले रोजगारीको अभावमा रहेका स्थानीय स्तरमा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । हाल उद्योगमा मुख्य अपरेटर गणेश थारुले मेसिनरी संचालन र वस्तु तयारीमा नेतृत्व गरिरहेका छन् भने अन्य ९ जनाले महिलाहरू कागज जन्य वस्तुहरूको उत्पादन र तयारीमा प्रत्यक्ष रोजगारी पाएका छन् ।
लगानी र साझेदारी मोडल
यस उद्योगको स्थापना र संचालनमा बहुपक्षीय साझेदारीको उदाहरणीय अभ्यास गरिएको छ । वाणगंगा नगरपालिका, प्रदेश सरकार, सामुदायिक वन, र विभिन्न संघसंस्थाहरूको सहकार्यमा यो परियोजना अघि बढेको हो ।
उद्योगमा अवश्यक मेसिनरी, पूर्वाधार, तालिम र क्षमता विकासमा हालसम्म करिब ५० लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । शुरूवाती चरणमा तालिम, अवलोकन भ्रमण, र अनुभव आदान प्रदान मार्फत उद्योगलाई आधुनिक र व्यवस्थित बनाइँदै लगिएको छ ।
उद्योगकी प्रमुख संचालक सूर्यकुमारी शाही
हामीले महिला उद्यमशीलतालाई वातावरण संरक्षणसँग जोड्ने प्रयास गरेका छौँ । अब स्थानीय सरकारले यस प्रकारका उद्योगलाई प्रोत्साहन गर्ने नीति र कार्यक्रम ल्याउनु आवश्यक छ । सिद्धार्थ वातावरण मैत्री कागज उद्योगले केवल उत्पादन मात्र नगरी वातावरण जोगाउने सामाजिक दायित्व समेत बोकेको छ । हाल वाणगंगा नगरपालिका र आसपासका बजारहरूबाट माग बढिरहेको सन्दर्भमा, उद्योगले आफ्नो उत्पादन क्षमता वृद्धि गर्ने र बजारीकरणलाई अझ व्यवस्थित बनाउने लक्ष्य लिएको छ । स्थानीय स्तरमा उपलब्ध जनशक्ति र स्रोतको प्रयोग गर्दै गरिएको यो कार्यले हरित अर्थतन्त्र निर्माणमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।







प्रतिक्रिया