१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

लोकसंगीत र संस्कृतिको संरक्षणमा पूर्णचन्द्र परियारको निरन्तर यात्रा ‘कम्मर मरक्कै’ गीतले मन जित्दै



१२ भदाै, वाणगंगा । लोकसंगीतको चर्चा गर्दा कपिलवस्तुमा पूर्णचन्द्र परियारको नाम अग्रपंक्तिमा आउँछ। राजनीतिक क्षेत्रदेखि लोकसांगीतिक क्षेत्रसम्म सक्रिय परियारले विभिन्न संघसंस्था, सभा समारोह तथा सामाजिक कार्यक्रममार्फत कपिलवस्तुको कला, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्।

नेपाली महिलाको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा गायकद्वय पूर्णचन्द्र परियार र सम्झना रणपालको नयाँ तीज गीत ‘कम्मर मरक्कै’ सार्वजनिक भएको हाे। मौलिक लय, शब्द र नेपाली ग्रामीण परिवेशलाई आधार बनाएर तयार पारिएको उक्त गीतले तीजको सांगीतिक माहोललाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ। ‘कम्मर मरक्कै’मा पूर्णचन्द्र परियार र सम्झना रणपालको स्वर रहेको छ।

कपिलवस्तुको बाणगंगामा रहेर लामो समयदेखि कला र संस्कृतिको संरक्षणमा सक्रिय परियारले यसपटक तीजलाई लक्षित गर्दै नयाँ गीत सार्वजनिक गरेका छन्। नेपाली मौलिक संस्कृति र परम्परालाई केन्द्रमा राखेर तयार गरिएको गीतको म्युजिक भिडियोमा कपिलवस्तुका स्थानीय तथा ऐतिहासिक स्थलहरूलाई समेत प्राथमिकताका साथ समेटिएको छ।

विशेषगरी ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण नन्दनगर र आसपासका क्षेत्रलाई म्युजिक भिडियोमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ। स्थानीय परिवेश, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानलाई समेटिएको भिडियोले दर्शकको ध्यान तानेको छ।

म्युजिक भिडियोमा स्थानीय क्षेत्रका महत्वपूर्ण स्थलहरूको दृश्य समेटिएपछि नन्दनगरसहित आसपासका क्षेत्रको प्रचार–प्रसारमा समेत टेवा पुगेको स्थानीयवासीको भनाइ छ। गीत–संगीतमार्फत मनोरञ्जनसँगै स्थानीय कला, संस्कृति र पर्यटकीय क्षेत्रको पहिचानलाई उजागर गर्ने परियाको प्रयासलाई उनीहरूले सकारात्मक रूपमा लिएका छन्।

गीतमा जीवन परियारको संगीत तथा गोविन्द अनेकको शब्द र संगीत संयोजन रहेको छ। मौलिक तीज संस्कृतिको स्वाद दिने गरी तयार पारिएको गीतमा परम्परागत नेपाली लोकलय र तीजको उत्सवमय भावलाई प्राथमिकता दिइएको छ। गीतको म्युजिक भिडियोमा ज्योति के.सी., गोविन्द के.सी. र सन्ध्या परियारले अभिनय गरेका छन्। भिडियोको छायांकन सुनिल विश्वकर्माले गरेका हुन् भने निर्देशन लोकेन्द्र शाहले गरेका छन्।

पछिल्लो समय तीज गीतका नाममा मौलिकता हराउँदै गएको गुनासो भइरहेका बेला ‘कम्मर मरक्कै’ भने मौलिक लय र शब्दमा आधारित रहेको गायक पूर्णचन्द्र परियारले बताएका छन्। नेपाली मौलिक संस्कृति, तीजको भावना र लोकसंगीतको स्वादलाई जोगाउँदै दर्शक–श्रोतामाझ नयाँ कोशेली ल्याउने प्रयास गरिएको उनको भनाइ छ।
(भिडियो सहित)

प्रकाशित मिति : १२ भदौ २०८३ शुक्रबार ००:००  ३ : ५७ बजे