५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

नेपाल पत्रकार महासंघ कपिलवस्तुद्वारा २०८३ सालको भित्तेपात्रो बिमोचन



कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तुले २०८३ सालको भित्तेपात्रो (क्यालेन्डर) बिमोचन गरेको छ। बिहीबार महासंघको भवनमा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्दै भित्तेपात्रो सार्वजनिक गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यले पत्रकारिता राज्यको चौथो अंग भएको उल्लेख गर्दै समाज परिवर्तनमा यसको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

त्यस्तै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले समाजमा सकारात्मक पत्रकारिता गर्ने व्यक्तिहरू पनि रहेको र पत्रकारिताको नाममा कमाउ धन्दा गर्ने प्रवृत्ति पनि देखिएको भन्दै यस्तो प्रवृत्तिमा सुधार आवश्यक रहेको धारणा राख्नुभयो।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिपा महतले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव सउिल्लाल धोबीले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसालले नेपाल पत्रकार महासंघ सञ्चारमाध्यम तथा पत्रकारहरूको हितमा क्रियाशील रहेको बताउँदै निष्पक्ष पत्रकारितामा जोड दिनुभयो। उहाँले राज्यको व्यवस्था परिवर्तनका विभिन्न चरणहरूमा पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उक्त योगदानलाई उपेक्षा गर्न नमिल्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष नारायण पौडेल, सल्लाहकार पार्वती पाण्डे, उपाध्यक्ष खगप्रसाद चापागाई लगायतले पत्रकारको हकहित र संरक्षणका लागि सबै निकाय एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति : ५ बैशाख २०८३ शनिबार ००:००  ७ : ५६ बजे