७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

भक्तपुरमा आइतबार पनि विद्यालय सञ्चालन हुने



भक्तपुर ।
देशभर नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारी निर्णय भए पनि भक्तपुरमा आइतबारदेखि नै नयाँ शैक्षिक सत्र सुरु गरिएको छ। भक्तपुर र चाँगुनारायण नगरपालिकाले स्थानीय सरकारको अधिकार क्षेत्रअन्तर्गत विद्यालय सञ्चालनको निर्णय गर्दै नगर क्षेत्रभित्रका विद्यालयलाई आइतबारदेखि शैक्षिक सत्र सुरु गर्न अनुमति दिएका हुन्।

भक्तपुर नगरपालिकाले संघीय सरकारले घोषणा गरेको शनिबार र आइतबार दुई दिने बिदा लागू नगरी आइतबार पनि नियमित रूपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।

भक्तपुर नगर कार्यपालिकाको वैशाख ३ गते बसेको बैठकले सामुदायिक, संस्थागत तथा गुठीअन्तर्गतका सबै विद्यालय पूर्वनिर्धारित शैक्षिक क्यालेन्डरअनुसार सञ्चालन गर्ने निर्णय गरेको थियो।

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले चैत २६ गते जारी पत्रमार्फत मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने तथा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयन गर्न परिपत्र गरेको थियो।

तर नगरपालिकाका अनुसार विभिन्न विद्यालयका प्रतिनिधि, सार्वजनिक विद्यालय सामूहिक परीक्षा समिति, संयुक्त परीक्षा समिति, आधारभूत विद्यालय समिति तथा इसान, प्याब्सन, नेसनल प्याब्सन, पेट्सान र हिसानलगायत संस्थाले दुई दिन बिदा हुँदा पठनपाठनका दिन घट्ने, पाठ्यक्रमले तोकेको क्रेडिट आवर पूरा गर्न कठिन हुने भन्दै आइतबार पनि विद्यालय सञ्चालन गर्नुपर्ने माग गरेका थिए।

भक्तपुर जिल्ला अभिभावक संघले पनि आइतबार विद्यालय सञ्चालन गर्नुपर्ने र वैशाख १ गतेदेखि नै शैक्षिक सत्र सुरु गर्नुपर्ने मागसहित नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो।

शिक्षा नियमावली २०५९ ९संशोधनसहित० अनुसार एक शैक्षिक सत्रमा २२० कार्यदिन हुनुपर्ने व्यवस्था छ। सर्वोच्च अदालतको चैत २० गतेको आदेशलाई समेत ध्यानमा राखेर निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएकाले पूर्वनिर्धारित क्यालेन्डरअनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाको भनाइ छ।

नगरपालिकाको निर्णयलाई लिएर मिश्रित प्रतिक्रिया आएका छन्। केहीले संघीय सरकारको निर्णय अवज्ञा गरेको बताएका छन् भने केहीले यसलाई व्यवहारिक र साहसी कदमको रूपमा व्याख्या गरेका छन्।

अभिभावक संघ भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिले दुई दिने बिदा शैक्षिक क्षेत्रका लागि अनुपयुक्त भएकाले जिल्लाका चारवटै नगरपालिकामा ज्ञापनपत्र बुझाइएको बताए। भक्तपुर र चाँगुनारायण नगरपालिकाले माग सम्बोधन गरेको भन्दै उनले धन्यवाद व्यक्त गरे।भक्तपुर जिल्लामा भक्तपुर, चाँगुनारायण, मध्यपुर थिमि र सूर्यविनायक गरी चार नगरपालिका छन्।

उता निजी विद्यालय सञ्चालकहरूले पनि पठनपाठन वैशाख १५ गतेदेखि नै सुरु गर्न सरकारसँग माग गर्दै आएका छन्। शिक्षा मन्त्रालयले वैशाख २१ गतेदेखि कक्षा सञ्चालन गर्न निर्देशन दिएपछि निजी विद्यालयहरूले लचकता अपनाउन आग्रह गरेका थिए।

निजी विद्यालयका प्रतिनिधिहरूले वैशाख २१ गतेदेखि मात्र कक्षा सञ्चालन गर्दा सिकाइ प्रभावित हुने, पाठ्यक्रम पूरा गर्न कठिन हुने तथा लामो बिदाले शिक्षण सिकाइमा असर पर्ने बताएका छन्।

हिसान, एनप्याब्सन, प्याब्सन तथा अपेनका प्रतिनिधिहरूले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाउँदै स्थानीय तहसँग समन्वय गरेर विद्यालयका गतिविधि अघि बढाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : ६ बैशाख २०८३ आइतबार ००:००  ७ : ५८ बजे