कपिलवस्तु ।
शिवराज नगरपालिकामा विद्यालय व्यवस्थापन समितिका मनोनीत अध्यक्षहरूको व्यापक पुनर्गठन गरिएको छ। नगरपालिकाको शिक्षा शाखाका अनुसार हालै लागू गरिएको शिक्षा ऐन संशोधनसँग सम्बन्धित प्रावधान कार्यान्वयन भएपछि करिब ४० जना अध्यक्षहरूको पद स्वतः खारेज भएको शिक्षा शाखा प्रमुख पुर्ण विश्वकर्माले बताए ।
विभिन्न सामुदायिक तथा धार्मिक विद्यालयमा राजनीतिक दल तथा सामाजिक सिफारिसका आधारमा मनोनीत भएका अध्यक्षहरूको पद नयाँ कानुनी व्यवस्था अनुसार स्वतः निष्क्रिय भएको छ। सोही निर्णयअनुसार विद्यालय व्यवस्थापन समितिहरू पुनर्गठन गर्ने प्रक्रिया अघि बढाइएको विश्वकर्मा जानकारी दिए।
पदमुक्त हुने प्रमुखहरूमा राष्ट्रिय माध्यमिक विद्यालयका अध्यक्ष जगत पौडेल, नेपाल आदर्श मावि ९शिवराज–१० का अध्यक्ष नरेन्द्रमान केसी, त्रिभुवन आदर्श माविका अध्यक्ष कुनाल प्रताप शाह, समयथान माविका अध्यक्ष गोबिन्द बहादुर विश्वकर्मा तथा सरस्वती आधारभूत विद्यालयका अध्यक्ष जगत बहादुर जिसी लगायत रहेका छन्।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार शिक्षा ऐन संशोधनसँग सम्बन्धित नयाँ व्यवस्थाले मनोनीत सदस्यहरूको पद स्वतः समाप्त हुने व्यवस्था लागू गरेपछि यो कदम चालिएको हो। सोही आधारमा अब विद्यालय व्यवस्थापन समितिहरू नयाँ ढाँचामा पुनर्गठन गरिने जनाइएको छ।
तर सबै विद्यालयमा भने अध्यक्ष परिवर्तन भएको छैन। जनचेतना सामुदायिक विद्यालयका अध्यक्ष आनन्द कुमार शुक्ला र बालज्योति मावि, विसनपुरका अध्यक्ष मुलचन्द यादव भने यथावत् रहेका छन्।
शिवराज नगरपालिकाभित्र हाल सामुदायिक तथा धार्मिक गरी कुल ५५ वटा विद्यालय सञ्चालनमा रहेका छन्।
२२ बैशाख २०८३ मंगलबार ००:००
0
Shares







प्रतिक्रिया