३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

दाङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, तीन घाइते



तुलसीपुर । दाङमा आइतबार  छुट्टा छुट्टै  मोटरसाइकल दुर्घटना हुँदा एक  जनाको मृत्यु भएको छ भने  तीन जना घाइते भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार अमेलियाबाट तुलसीपुरतर्फ आउँदै गरेको लु.०२–००२प २४८६ नम्बरको मोटरसाइकल अमिलिया नजिकै दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

आइतबार बिहान राप्ती राजमार्ग अन्तर्गत अमिलियादेखि २ किलोमिटर नजिकै  अनियन्त्रित भएको भएको मोटरसाइकल सडकबाट पाँच मिटर तल खस्दा चालक तुलसीपुर–७ रामनगरका २३ वर्षीय नोखिराम केसीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएपछि डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ  ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार सल्यानको बागचौर नगरपालिका–११ वाफुखोलाका २१ वर्षीय  वीरेन्द्रकुमार खड्का घाइते हुनुभएको छ ।

घाइते खड्काको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । आइतबार दिउँसो एक बजेतिर तुलसीपुर गुल्मचोकनेर  दुई वटा एक आपसमा मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार तुलसीपुर हात्तिखौवाबाट बजारतर्फ जाँदै गरेको रा २ प ८००८ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको रा ३ प ९९ नम्बरको मोटरसाइकल गुल्मचोकमा ठोक्किएर दुर्घटना भएको हो  ।

दुर्घटनामा दुवै मोटरसाइकल चालक घाइते भएका छन् । पराजुलीका अनुसार रा २ प ८००८ नम्बरको मोटरसाइकल चालक घोराही–१७ का १७ वर्षीय अनिल पुन र रा ३ प ९९ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–७ का १७ वर्षका लक्ष्मण गिरी घाइते भएका हुनुभएको हो  ।

घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३ आइतबार ००:००  ५ : ५५ बजे