४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

दुग्ध विकास संस्थानको क्षमता विस्तारबारे मुख्यमन्त्रीसँग छलफल



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानले उत्पादन गरेको दुध सहज रूपमा खरिद गर्ने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख तथा प्रतिनिधिसँग सोमबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले दुध सहज रूपमा खरिद गर्नुपर्ने र किसानलाई समयमा नै भुक्तानी गर्न ध्यानाकर्षण गराउनुभएको हो । 

सो अवसरमा दुग्ध वितरण आयोजनाले क्षमता विस्तारसम्बन्धी प्रस्ताव पेस गरेको थियो । मुख्यमन्त्री आचार्यले दुधबाट उत्पादन हुने सामग्रीमा विविधीकरण गरी उपभोक्तालाई सहज रूपमा गुणस्तरीय दुग्ध पदार्थ उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले दुग्ध विकास संस्थानका उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजना बुटवलले क्षमता विस्तार योजना प्रस्ताव गरेको छ । आयोजना प्रमुख कृष्णप्रसाद अर्यालले प्रस्तावपत्र पेस गर्नुभएको थियो । प्रस्ताव अनुसार आयोजनाको सङ्कलन, उत्पादन, युटिलिटी, ढुवानी तथा बजारीकरण क्षमता विस्तार गरी दैनिक २५ हजार लिटर दुध व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ । 

हाल आयोजनाले फ्लस सिजनमा दैनिक १५ हजारदेखि २० हजार लिटर र लिन सिजनमा ७ हजारदेखि १० हजार लिटरसम्म दुध सङ्कलन गर्दै आएको जनाएको छ। दुग्ध विकास संस्थानले हाल देशभर करिब आठ सय दुग्ध उत्पादक सहकारीमार्फत दैनिक एक लाख ५० हजार लिटर दुध खरिद गर्दैआएको छ । यसबाट करिब एक लाख कृषक परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । १० हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।

बुटवलमा २०४६ सालमा स्थापना भएको लुम्बिनी दुग्ध वितरण आयोजनाको दुध सङ्कलन क्षेत्र रूपन्देही, नवलपरासी, नवलपुर, कपिलवस्तु र गुल्मी रहेका छन् । आयोजनाले बुटवल, भैरहवा, पाल्पा, नवलपरासी, नारायणघाट र पोखरामा दुध तथा दुग्ध पदार्थको बजारीकरण गर्दै आएको छ।

आयोजनाले पुराना मेसिनरी, सीमित प्रशोधन क्षमता, बजारीकरणका साधनको अभाव तथा उत्पादन विविधीकरणमा समस्या रहेको उल्लेख गर्दै नयाँ उपकरण तथा पूर्वाधार विस्तारको आवश्यकता औंल्याएको छ । प्रस्तावित योजना अन्तर्गत खुवा बनाउने मेसिन, ब्वाइलर, होमोजनाइजर, अटोमेटिक बटर प्याकेजिङ मेसिन, दही फिलिङ मेसिन, आइसक्रिम तथा कुल्फी प्लान्ट, डेलिभरी भ्यान र २० टन क्षमताको बटर कोल्ड स्टोर स्थापना गर्ने योजना समावेश गरिएको छ । प्रस्ताव कार्यान्वयनपछि दुध प्रशोधन क्षमता प्रतिघण्टा ३ हजार लिटरबाट ५ हजार लिटर पुग्ने, लाभान्वित कृषक परिवार ६ हजारबाट ८ हजार पुग्ने तथा दैनिक दुध खपत ५ हजार लिटरबाट ८ हजार लिटर पुग्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : ४ जेष्ठ २०८३ सोमबार ००:००  ७ : ५३ बजे