२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

बाणगङ्गाको आय लक्ष्यभन्दा बढी, झण्डै १८ करोड राजस्व संकलन, वडा न. ८ काे सर्वाधिक



कपिलवस्तु । बाणगङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८२।८३ मा आन्तरिक राजस्व संकलनमा उल्लेखनीय सफलता हासिल गरेको छ। नगरपालिकाको राजस्व संकलन विवरणअनुसार गत आर्थिक वर्षमा निर्धारित लक्ष्यभन्दा उल्लेख्य रूपमा बढी आन्तरिक आय संकलन भएको हो।

नगरपालिकाका राजस्व शाखा प्रमुख मदनप्रसाद घिमिरेका अनुसार आर्थिक वर्ष २०८२ साउन १ गतेदेखि २०८३ असार मसान्तसम्म नगरपालिकाले कुल १७ करोड ८७ लाख ७९ हजार २३२ रुपैयाँ आन्तरिक आय संकलन गरेको छ। यो रकम निर्धारित लक्ष्यको झण्डै दोब्बर रहेको उनले बताए।

राजस्व शाखाका प्रशासकीय अधिकृत घिमिरेका अनुसार लक्ष्यभन्दा बढी राजस्व संकलन हुनुमा कर प्रशासनमा गरिएको सुधार, करदाताको बढ्दो सहभागिता, नदीजन्य पदार्थको उपलब्धता तथा नियमित अनुगमन मुख्य कारण रहेका छन्।

आर्थिक वर्षको अन्तिम विवरणअनुसार नगरपालिकाको केन्द्रीय कार्यालयबाट मात्रै १४ करोड ५६ लाख ८५ हजार ६९४ रुपैयाँ राजस्व संकलन भएको छ। यसमध्ये सबैभन्दा बढी दहत्तर–बहत्तर (नदीजन्य पदार्थ) को ठेक्काबाट मात्रै झण्डै १० करोड रुपैयाँ राजस्व प्राप्त भएको छ।

अधिकांश वडाले आफ्नो वार्षिक लक्ष्य पूरा गर्दै लक्ष्यभन्दा बढी राजस्व उठाएका छन्। सबैभन्दा बढी राजस्व वडा नं ८ ले संकलन गरेको छ। जनसंख्या तथा व्यापारिक गतिविधि बढी रहेको उक्त वडाले ६५ लाख ९६ हजार ६३१ रुपैयाँ राजस्व संकलन गरेको हो। त्यसपछि वडा नं ४ ले ५० लाख ३३ हजार २६५ रुपैयाँ तथा वडा नं ११ ले ४७ लाख ७० हजार ४७९ रुपैयाँ राजस्व संकलन गरेका छन्। सवैभन्दा कम राजश्व वडा न. ६ ले २५ लाख ४६ हजार ६०२ संकलन गरेकाे छ ।

नगरपालिकाले सम्पत्ति कर, भूमिकर, मालपोत, बहाल कर, व्यवसाय कर, सिफारिस दस्तुर, सेवा शुल्क, नक्सापास दस्तुर, बेरुजु, मनोरञ्जन कर, विज्ञापन कर, सरकारी सम्पत्तिबाट प्राप्त आम्दानी तथा अन्य प्रशासनिक सेवाबाट राजस्व संकलन गरेको विवरण सार्वजनिक गरेको छ।

नगरपालिकाले बैंकमार्फत प्राप्त राजस्व, नगद संकलन तथा प्रत्यक्ष बैंक जम्मा भएका रकमलाई समेत समेटेर एकीकृत वित्तीय विवरण तयार गरेको छ। यसले राजस्व व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाएको लेखा प्रमुख केशव गैरेले जानकारी दिए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले आन्तरिक आयमा भएको वृद्धि आगामी वर्ष विकास निर्माण, आधारभूत सेवा विस्तार तथा स्थानीय स्रोतको दिगो परिचालनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। आगामी आर्थिक वर्षमा करको दायरा विस्तार, कर प्रशासनलाई प्रविधिमैत्री बनाउने तथा करदातामैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिने उनले बताए।

नगर प्रमुख चक्रपाणि अर्यालले राजस्व संकलनमा नगरवासीको उत्साहजनक सहभागिताप्रति धन्यवाद व्यक्त गर्दै स्थानीय स्रोत वृद्धि गर्न सबैले आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक योगदान गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २ श्रावण २०८३ शनिबार ००:००  ५ : ४७ बजे