डिलाराम भुसाल, कपिलवस्तु ।
सम्भावित प्राकृतिक विपद् तथा अन्य आकस्मिक दुर्घटनाको प्रभावकारी व्यवस्थापनका लागि कपिलवस्तुमा सुरक्षा निकायको तयारीलाई थप सुदृढ बनाइएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मंगलबार जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा जिल्ला कारागार कार्यालयलाई विपद् उद्धारका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको हो।
जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले संयुक्त रूपमा सम्बन्धित सुरक्षा निकायका प्रमुखहरूलाई सामग्री हस्तान्तरण गरेका थिए।
नेपाल प्रहरीलाई १० थान फायर एक्स्टिङ्गुइसर, २० थान अग्नि नियन्त्रण यन्त्र, २ थान चेन–स र १ थान भर्याङ प्रदान गरिएको छ। त्यसैगरी सशस्त्र प्रहरी बललाई १० थान फायर एक्स्टिङ्गुइसर, १ थान चेन–स, १ थान भर्याङ, १० थान स्विमिङ ट्युब तथा २ थान फायर बल उपलब्ध गराइएको छ। नेपाली सेनालाई १० थान फायर एक्स्टिङ्गुइसर र १ थान चेन–स हस्तान्तरण गरिएको छ भने जिल्ला कारागार कार्यालयलाई १० थान फायर एक्स्टिङ्गुइसर प्रदान गरिएको प्रशासनले जनाएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्ट, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीलगायत सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरूको उपस्थिति रहेको थियो।
सामग्री हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी गौतमले विपद्को पूर्वतयारी र द्रुत प्रतिकार्यले ठूलो धनजनको क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उनले भने, “विपद् बाजा बजाएर आउँदैन। यस्तो अवस्थामा उद्धारकर्ताको सुरक्षा सुनिश्चित गर्दै छिटो उद्धार कार्य सञ्चालन गर्न पर्याप्त भौतिक स्रोत–साधन आवश्यक हुन्छ। आज हस्तान्तरण गरिएका सामग्रीले सुरक्षा निकायको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै विपद्का बेला सर्वसाधारणको धनजनको रक्षा गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछन्।”
सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले जिल्ला सुरक्षा समितिमार्फत आगामी दिनमा पनि विपद् व्यवस्थापन, पूर्वतयारी तथा सुरक्षा निकायहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक समन्वय र सहयोगलाई निरन्तरता दिइने बताए।
जिल्ला प्रशासन कार्यालयले वर्षायाम तथा अन्य सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायलाई आवश्यक स्रोत–साधन उपलब्ध गराएर उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सामग्री वितरण गरिएको जनाएको छ।







प्रतिक्रिया