काठमाण्डौ ।
आज र भोलि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर आज शनिवार र भोलि आइतवार मनसुन थप सक्रिय भई ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ ।
मुसलधारे तथा अरिघोप्टे वर्षा हुने भएकाले त्यसबाट हुन सक्ने क्षतिबाट जोगिन महाशाखाले सबै नागरिकलाई सतर्क रहन सुझाव दिएको हो । महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तर–पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय हुने सम्भावना छ ।
आज र भोलि मनसुनी गतिविधि बढ्न गई देशका हिमाली/पहाडी भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलोदेखि अति ठूलो पानी पर्ने सम्भावना छ ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भागका एक/दुई ठाउँमा अरिघोप्टे वर्षाको समेत सम्भावना छ ।
देशभर धेरै ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाले पर्सि सोमवारसम्म नै सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।








प्रतिक्रिया