दीपा महत, कपिलवस्तु ।
सानैदेखि सेतो कोट लगाएर, गलामा स्टेथेस्कोप भिरेर बिरामीको उपचारमा खटिने सपना बोकेकी थिइन् साबिया खातुन (२१)ले । कपिलवस्तु नगरपालिका–१, जमुवार टोलकी सावियालाई लाग्थ्यो एक दिन पक्कै डाक्टर बन्नेछु । तर जीवनमा सबै सपना पुरा हुँदैनन् । कमजोर आर्थिक अवस्था, ठूलो परिवार र सामाजिक सीमाले उनको त्यो सपना अधुरै रह्यो । एउटा सपना अपुरो रहेपनि उनकालागि अर्को ढोका खुल्यो । आत्मनिर्भरता, नेतृत्व र सामाजिक रूपान्तरणको । आज साबिया आफ्नो जीवन संघर्षको सिकाईलाई अरू किशोरी र महिलाको प्रेरणामा रूपान्तरण गरिरहेकी छन् ।
आठ दिदीबहिनी र एक भाइ भएको परिवारकी साबिया सातौँ सन्तान हुन् । मजदुरी गरेर परिवार धान्ने परिवारमा बुबाले आर्थिक अभावका बीच पनि छोरीहरूलाई पढाउन कहिल्यै कञ्जुस्याइँ गरेनन् । “मेरो बुबाले छोरीलाई पढाउनु हुँदैन भन्ने सोच कहिल्यै राख्नुभएन । आफूले दुःख गरेर भए पनि हामीलाई पढाउनुभयो,” उनी सम्झिन्छिन् ।”
तर चाहना र शैक्षिक क्षमता हुँदाहुँदै पनि आर्थिक अभावले उनलाई चिकित्सा शिक्षा पढ्न दिएन । अहिले उनी कपिलवस्तु बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्ष अध्ययनरत छिन् । आफ्नो परिवारमा सबैभन्दा धेरै शिक्षा हासिल गर्ने छोरी बनेकी साबियाकालागि त्यहाँसम्म पुग्नु पनि सजिलो थिएन । मुस्लिम समुदायकी युवती भएकाले १२ कक्षा पछि पढाइ रोकिनुपर्छ भन्ने सामाजिक दबाब उनले बारम्बार सामना गरिन् । तर उनले हार मानिनन् ।
बुबाको निधनपछि थपियो जिम्मेवारी
दुई वर्षअघि बुबाको निधन भएपछि जिम्मेवारी झन् बढ्यो । भाडाको घरमा बस्ने परिवारमा आमा, भाइबहिनीको पढाइ र दैनिक खर्च जुटाउने चिन्ता पनि उनकै काँधमा आइर्पयो । साबियालाई पढाइसँगै परिवारको भविष्यका लागि पनि केही गर्नुपर्ने बाध्यता थियो । यही बाध्यताले उनलाई अझ बलियो बनायो । “बुबा बितिजानु भएपनि उनको काँधमा काँध थाप्ने काका हुनुहुन्छ, साबियाको परिवारलाई उनको काकाले धेरै सहयोग गर्दै आउनुभएको छ । उनि सम्झन्छिन बाबा गुमाएपनि हामीलाई काकाबुबाबाट धेरै माया, आँट र हौसला पाएका छौ ।” उनले ढुक्कहुँदै भनिन् ।
५० रुपैयाँबाट सुरु भएको यात्रा परिवर्तनको
२०७७ सालमा साथीमार्फत उनले किशोरी अधिकार मञ्चको बारेमा थाहा पाइन् । किशोरीका अधिकार, समानता र नेतृत्व विकासका लागि काम गर्ने संस्था भन्ने सुनेपछि उनी पनि त्यसमा आबद्ध हुन चाहन्थिन् । तर सदस्य बन्न आवश्यक ५० रुपैयाँ जुटाउन पनि उनलाई छ महिना लाग्यो । “हाम्रो समुदायमा महिलाले यस्ता संस्थामा आबद्ध भएर अधिकारका कुरा गर्नु सहज थिएन । ५० रुपैयाँ जुटाउन पनि निकै समय लाग्यो । तर त्यो निर्णयले मेरो जीवन नै बदलिदियो, उनी भन्छिन् ।”
किशोरी अधिकार मञ्च उनको जीवनको दोस्रो पाठशाला बन्यो । त्यहाँ उनले अधिकार, नेतृत्व, लैङ्गिक समानता, आत्मविश्वास र सामाजिक उत्तरदायित्वका विषयमा सिक्ने अवसर पाइन् । विभिन्न तालिम, छलफल र नेतृत्व विकास कार्यक्रममा सहभागी हुँदै उनी विस्तारै आत्मविश्वासी बन्दै गइन् ।
सन् २०२४ मा पहिलो पटक काठमाडौंमा तालिम लिन जाँदा परिवारले अनुमति नदिएपछि झुट बोलेर गएको अनुभव उनी आज पनि मनमनै मुस्कुराउँदै सम्झिन्छिन् । “त्यो यात्रा मेरो जीवनको एउटा महत्वपूर्ण मोड थियो । मेरो संसारलाई हेर्ने र बुझ्ने दृष्टिकोण नै बदलियो,” उनी भन्छिन् । “तालिममा जादा पहिलो पटक माइक समातेर बोल्न लागेको स्मरण गर्दै साबिया भन्छिन् घरमा झुट बोलेर काठमाडौ गएकी थिए काठ्माडौमा तालिम लिन पठाउने कुरामा मेरो परिवारले मान्ने थिएनन् र म क्यामराको अघि बोल्दै निकै डराएकी थिएँ र मास्क लगाएर आफ्ना केहि कुरा राखेकी थिए ।
त्यो भिडियो कतै मेरो आफन्तीले देख्लान र घरमा कुरा पुग्ने हो कि भन्ने मलाई डर थियो ।” साबियाले पुरानो कुरा खोलिन । साबिया अहिले त्यही ५० रूपियाँले जोडिएको संस्था किशोरी अधिकार मञ्च, कपिलवस्तुकी जिल्ला कोषाध्यक्षका रूपमा सक्रिय छिन् ।
दिदीबहिनी परियोजनाले सिकायो आत्मनिर्भर बन्न
केयर नेपालको सहयोगमा महिला पुनस्र्थापना केन्द्र (ओरेक)द्वारा सञ्चालित दिदीबहिनी परियोजनासँग जोडिएपछि साबियाको जीवनले अर्को मोड लियो । परियोजनाले उनलाई सीप सिकेर आफ्नै खुट्टामा उभिन प्रेरित गर्यो ।
अहिले उनी सिलाइकटाइ व्यवसाय गर्दै आम्दानी गर्न थालेकी छन् । “हाम्रो समुदायमा महिलाले बाहिर गएर काम गर्नु राम्रो मानिँदैन, तर मैले त्यो सोचलाई चुनौती दिएकी छु । आफ्नो भविष्य आफैँ बनाउनुपर्छ भन्ने विश्वासले अघि बढेकी छु ।” उनी दृढतापूर्वक भन्छिन् ।
सिलाइबाट भएको आम्दानीले उनको आत्मविश्वास मात्र बढाएको छैन, परिवारको आर्थिक भार पनि केही हलुका भएको छ । अब उनको चाहना फेशन डिजाइन सम्बन्धी थप तालिम र आवश्यक उपकरण जुटाएर आफ्नो व्यवसाय विस्तार गर्ने हो । सामाजिक परिचालक शेषमति मल्लाह भन्छिन् “साबिया धेरै आत्मविश्वासी हुनुहुन्छ ।” आफ्ना कुरा प्रष्टसँग राख्ने र जीवनमा आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यता राख्ने साबियाले अहिले धेरै किशोरीलाई अघि बढ्नको लागि प्रोत्साहन गर्नुहुन्छ । कपिलवस्तु नगरपालिका र शुद्धोधन गाँउपालिकामा गरि ५० किशोरी यस परियोजनासँग जोडिएका छन् । अहिले दिदीबहिनीको सहयोगमा धेरै किशोरीहरु व्यवसायिक पनि बन्न थालेका छन् ।
आफू बदलिइन्, समाज पनि बदल्दैछिन्
साबिया अहिले केवल आफ्नै संघर्षको कथा लेखिरहेकी छैनन् । उनी समुदायका किशोरी र महिलाहरूलाई अधिकार, नेतृत्व, आत्मरक्षा, स्वास्थ्य र आत्मनिर्भरताका विषयमा प्रशिक्षण दिँदै सामाजिक परिवर्तनको अभियानमा सक्रिय छिन् ।
उनी भन्छिन्, “धेरै महिलाले अझै आफ्नो अधिकारबारे थाहा पाएका छैनन्, पितृसत्तात्मक सोचले उनीहरूको क्षमता दबिएको छ । चेतना फैलाउनु अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो ।”
“हाम्रो समाजमा महिलाले धेरै बोल्नु हुँदैन भन्ने सोच थियो, तर साबिया सानैदेखि फरक थिईन् । आज समाजका महिलालाई सचेत बनाउँदै आत्मनिर्भर बनेको देख्दा निकै खुसी लाग्छ ।” साबियाकी आमा तहेराले भन्नुभयो ।
समाज रूपान्तरणमा मञ्चको भूमिका प्रशंसनीयः मेयर पौडेल
अधिकारकालागि आन्दोलन शुरु हुँदा समाज र सरकारको पनि दृष्टिकोण सकारात्मक थिएन । तर समयसँगै यसको प्रभाव देखेर समाज र सरकारको दृष्टिकोण फेरिएको छ ।
कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले किशोरी अधिकार मञ्चले किशोरी अनि महिलाहरुलाई सशक्त बनाउने मात्र नभई समाजमा रहेका बालविवाह, विद्यालय छोड्ने (ड्रपआउट), छुवाछुत लगायतका कुरीति हटाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । मञ्चले विशेषगरी बालविवाह न्यूनीकरण र विद्यालय छोडेका विद्यार्थीलाई पुनः विद्यालयमा फर्काउने अभियान प्रभावकारी रूपमा सञ्चालन गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
नगरपालिकाले किशोरी अधिकार मञ्चसँग सहकार्य गर्दै किशोर–किशोरी लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको र हरेक वर्ष बजेट नै विनियोजन गरी किशोरीहरुको आत्मरक्षा सम्बन्धी तालिम समेत दिने गरिएको नगरप्रमुख पौडेलले जानकारी दिनुभयो । आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । कपिलवस्तु १ का वडाध्यक्ष मुहम्मद अहिद खाँले पनि किशोरी अधिकार मञ्चले छोरीको शिक्षाप्रति सकारात्मक सोच विकास गर्दै समाज परिवर्तनमा उल्लेखनीय योगदान पुर्याएको अनुभव सुनाउँदै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
आत्मविश्वास छ तर भविष्यप्रतिको चिन्ता यथावत छ
सामाजिक काममा सक्रिय रहँदा पनि साबियाको मनमा एउटा चिन्ता भने सधैं रहन्छ, विवाहपछि यो यात्रा निरन्तर रहला कि नरहला ? उनका अनुसार मुस्लिम समुदायमा अझै पनि दाइजो प्रथा ठूलो सामाजिक समस्याका रूपमा कायम छ । परिवार शिक्षित भए पनि विवाहका नाममा आर्थिक बोझ र सामाजिक दबाब उस्तै छ । “पाँच दिदीहरूको विवाह भइसकेको छ । अब बाँकी तीन दिदीबहिनीको विवाह परिवारकालागि ठूलो आर्थिक चुनौती त छँदैछ । दाइजोको अन्त्य गर्न बलियो कानुन कार्यान्वयन र सामाजिक चेतना दुवै आवश्यक छ,” उनी भन्छिन् ।
अधुरो सपना, तर पूर्ण आत्मविश्वास
साबियाले डाक्टर बन्ने सपना पूरा गर्न सकिनन् तर उनले अर्को पहिचान निर्माण गरिन्, एक सचेत युवती, एक उद्यमी, एक सामाजिक अभियन्ता र धेरै किशोरीका लागि प्रेरणाको स्रोत । उनको कथा एकजना व्यक्तिको संघर्ष मात्र होइन, अवसर पाए महिलाले आफ्नो जीवनसँगै समाज पनि बदल्न सक्छन् भन्ने बलियो प्रमाण हो । सपना अधुरा हुन सक्छन् , तर संघर्ष र आत्मविश्वासले नयाँ सपना जन्माउन सक्छ भन्ने जीवित उदाहरण हुन्, साबिया खातुन ।








प्रतिक्रिया