काठमाडौँ ।
प्रधानमन्त्री बालेन्द्र शाहलाई आँखाको सुरक्षाका निम्ति चिकित्सकहरूले सनग्लास (कालो चस्मा) र विशेष आई ड्रप प्रयोग गर्न सुझाव दिएका छन्।
उज्यालो प्रकाशमा हेर्न कठिनाइ भएको गुनासोपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उनको आँखाको विस्तृत परीक्षण गरिएको थियो।
सोही परीक्षणका आधारमा चिकित्सकहरूले उनलाई सुरक्षात्मक उपाय अपनाउन सिफारिस गरेका हुन्।
नेत्ररोग विशेषज्ञ एसोसिएट प्रोफेसर लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालका अनुसार प्रधानमन्त्री शाहलाई आवश्यकताअनुसार नियमित प्रयोग गर्न ‘कार्बोक्सिमिथाइलसेल्युलोज ०.५ प्रतिशत’ आई ड्रप सिफारिस गरिएको छ।
प्रधानमन्त्रीले गत साउन २२ गते अस्पताल पुगेर आँखाको स्वास्थ्य परीक्षण गराएका थिए।
चिकित्सकको सिफारिससहितको औपचारिक मेडिकल रिपोर्ट प्रधानमन्त्री कार्यालयले साउन २६ गते संघीय संसद् सचिवालयमा पठाइसकेको छ, जसलाई सचिवालयले समेत प्राप्त भएको पुष्टि गरेको छ।
प्रतिनिधिसभाको भोलि बुधबार बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ।








प्रतिक्रिया