५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

एमाले वाणगंगा नगर कमिटीको सातौँ विस्तारित बैठक सम्पन्न



वाणगंगा । नेकपा एमाले वाणगंगा नगर कमिटीको सातौँ विस्तारित बैठक तथा ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण कार्यक्रम वाणगंगा नगरपालिका–८, वोडगाउँमा सम्पन्न गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेकपा एमालेका केन्द्रीय सदस्य गिरिधारीलाल न्यौपानेले पार्टीले अघि सारेको ‘मिसन पार्टी जागरण अभियान’लाई प्रभावकारी रूपमा सफल बनाउन पार्टीका सबै जनवर्गीय संगठनलाई चुस्तदुरुस्त र सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टी सदस्यता व्यापक रूपमा विस्तार गर्दै संगठनलाई जनताको तहसम्म थप मजबुत बनाउन आवश्यक रहेको बताउनु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा एमालेकी पूर्व पोलिटब्युरो सदस्य विमला घिमिरेले मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमाथि चर्चा गर्दै वर्तमान राजनीतिक परिस्थितिमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे धारणा राख्नु भएको थियो ।त्यस्तै, एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य विष्णु पन्थीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नेतृत्वको सरकारका गतिविधिका कारण जनतामा निराशा उत्पन्न हुँदै गएको दाबी गर्नुभयो। उहाँले एमालेले विगतमा जनतालाई धोका नदिएको भन्दै आगामी दिनमा पनि जनताको पक्षमा निरन्तर काम गर्ने भएकाले जनता एमालेको पक्षमा रहने विश्वास व्यक्त गर्नुभएको थियोे ।

एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य झबिलाल पोख्रेल, कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष बाबुराम खनाल तथा लुम्बिनी प्रदेश कमिटी सदस्य एवं वाणगंगा नगर इन्चार्ज चक्रपाणि अर्यालले पार्टीका सांगठनिक गतिविधि, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशाका विषयमा धारणा राख्नुभएको थियो ।
उहाँहरूले आगामी स्थानीय तह तथा प्रदेश तहका निर्वाचनलाई लक्षित गर्दै अहिलेदेखि नै संगठन विस्तार, जनसम्बन्ध सुदृढीकरण र निर्वाचन रणनीति निर्माणमा जुट्नुपर्नेमा जोड दिनु भएको थियो ।
पार्टीका नेता तथा कार्यकर्तालाई जनताका समस्या र सवालसँग प्रत्यक्ष जोडिँदै संगठनलाई थप प्रभावकारी बनाउनसमेत उहाँहरूले आग्रह गर्नुभयो।

कार्यक्रममा जिल्ला कमिटी सदस्य हुमनाथ भट्टराईलगायतका नेताहरूले पार्टी संगठनको अवस्था, आगामी कार्यदिशा तथा स्थानीय तहमा पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा सुझावसहित मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम वाणगंगा नगर कमिटीका अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगर कमिटीका उपाध्यक्ष भीम थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव चेतनारायण भण्डारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।
बैठक तथा अभिमुखीकरण कार्यक्रममार्फत पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै ‘मिसन पार्टी जागरण अभियान’लाई वाणगंगाका सबै वडा तथा टोलसम्म प्रभावकारी रूपमा पुर्‍याउने विषयमा समेत छलफल गरिएको थियो।

प्रकाशित मिति : ५ भदौ २०८३ शुक्रबार ००:००  ९ : ०९ बजे