चैनपुर (बझाङ) ।
रोल परी सोह्र घर छ्या, त्यई परी घर छैन
आलु राख्न्या छानु छियो, स्याउ राख्न्या ठौर छैन‘
बगैँचामा लटरम्म फलेको स्याउ देखाउँदै गीत सुनाउँदा भरूनी थापाको अनुहारमा पीडा झल्किन्थ्यो । १६ वर्षको मेहेनत बगैँचामा फल बनेर झुल्दा पनि बेचैन छ उनको मन ।
रूखका हाँगा स्याउले झुकेका छन् । हाँगामा मात्रै नभई बोट नै अडेस लागेको छ । बगैँचा राताम्य छन् । बगैँचा हेरेर उत्सव मनाउनुपर्ने परिवार ‘स्याउ कहाँ बेच्ने ?’ चिन्तामै रूमल्लिएको छ ।
खप्तडछान्ना गाउँपालिका–६ राजकोट स्थायी घर भएका थापा परिवारले वर्षौँको मेहेनतपछि बगैँचामा फल देखेका थिए । केही वर्षयता नियमित देख्न पाइएको छ । “दिउँसोको उज्यालोमा झुलेको फल देख्न श्रीमान् वीरजनसहित छोराछोरीले हरेक दिन पालो लगाएर निन्द्रा कटाएका छौं’, उनले भनिन् ।
भरूनीका अनुसार बाँदर, भालु, ओध, अरिङ्गाल, बँदेल र चराचुरूङ्गीबाट स्याउ जोगाउनुपर्छ । “वन्यजन्तुले आँखा झिमिक्क, माल गायब भनेजस्तै पारिदिन्छन् । त्यसैले चौबिसै घण्टा चौकीदार बस्नुपर्छ’, उनले भनिन् । यो समस्या एउटा बगैँचाको मात्रै होइन । खप्तडछान्ना–६ खालीगडामा स्याउ खेती गर्ने दर्जन बढी किसानको पीडा उस्तै छ ।
सोही वडा राजकोटका भीमबहादुर थापाले पनि वर्षभरिको मेहनत आँखै अगाडि खेर गइरहेको देखिरहेका छन् । ‘रातदिन नभनी स्याउकै हेरचाहमा छौँ । झरेर कुहिने र वन्यजन्तुले नोक्सान गरेर आधा भइसक्यो । बेचिने छाँटकाँट छैन’, उनी भन्छन् ।
जमिन बाँझो नराख्ने उद्देश्यले स्याउ खेती गरेका किसानका लागि उत्पादनभन्दा बजार ठूलो चुनौती बनेको छ । खालीगडाबाट सडक सञ्जाल पुगेको ठाउँसम्म पुग्नै दुई घण्टा पैदल हिँड्नुपर्छ । त्यसपछि पनि किसानले चाहेको समयमा सवारीसाधन पाउँदैनन् । पाए पनि ढुवानी खर्च महँगो छ । यस्तै दुःखको सागरमा रूमल्लिएको छ, खालीगडाको स्याउ । ‘बर्खाको समयमा स्याउ पाक्छ । त्यही समय पहाडी सडक अवरुद्ध हुन्छ । यातायात सञ्चालन नहुने र ढुवानी कठिन हुने भएकाले किसानको उत्पादन बगैँचामै थन्किन्छ’, खप्तडछान्ना–५ का किरण गिरीले सुनाए ।
उनका अनुसार कृषकले बजारसम्म पुर्याउँदा स्याउको मूल्यभन्दा ढुवानी खर्च महँगो पर्ने अवस्था छ । बाहिरबाट आउने सस्तो स्याउसँग स्थानीय किसानले प्रतिस्पर्धा गर्न नसकेको उनले बताए ।
बाहिरको स्याउले ओगट्यो बजार
बझाङका बजारमा अहिले भारतको हिमाचल प्रदेशको सिम्ला क्षेत्रबाट आउने स्याउ सहजै भेटिन्छ । नेपालकै जुम्ला, मुस्ताङको स्याउ पनि पर्याप्त छ । त्यसको मूल्य प्रतिकिलो करिब रु १५० देखि १७० सम्म पर्छ तर स्थानीय किसानले उत्पादन गरेको स्याउ बजारसम्म पुग्दा त्योभन्दा बढी खर्च लाग्छ ।
उपभोक्ताको घरसम्म पुग्दा स्थानीय स्याउ बाहिरबाट आएको स्याउभन्दा महँगो हुन जान्छ । त्यसपछि किसानसँग सस्तोमा बेच्नु वा बगैँचामै छोड्नुबाहेक विकल्प बाँकी रहँदैन ।
खप्तडछान्ना–६ तिउनेका नरेन्द्र थापा उपभोक्ताले स्थानीय स्याउको गुणस्तर र स्वादलाई प्राथमिकता नदिएको बताउँछन् । ‘हाम्रो खालीगडामा विभिन्न जातका निकै स्वादिलो स्याउ छन् तर बगैँचामै प्रतिकिलो रु ८० मा दिन्छुभन्दा पनि किन्न मान्दैनन्’, उनले भने, ‘टाढा बजारसम्म पुर्याउँदा ढुवानी खर्च नै उठ्दैन । त्यहाँ पुर्याए पनि धेरै सस्तो दिनुपर्छ ।’
ठूलो क्षेत्रफलमा खेती गरेर बजार नपाउँदा आफूलाई पछुतो लागेको नरेन्द्र बताउँछन् । ‘उत्पादन गरेर मात्र हुँदो रहेनछ । बेच्ने बजार पनि चाहिने रहेछ । लहलहमै गरेको खेतीले उपयुक्त नतिजा दिएन । समय र लगानी व्यर्थै गयो भन्ने लाग्छ’, निराश हुँदै उनले आफ्नो व्यथा सुनाए । ‘ढुवानी खर्च दिए पनि बोक्ने मान्छे भेटिँदैनन्’, उनी भन्छन्, ‘उत्पादन हुने फलफूलको आधा भाग नै कुहिने, सड्ने र वन्यजन्तुको आहारा हुने अवस्था छ । बचेको स्याउले मूल्य नै पाउँदैन ।’
खालीगडाकै कृषक कैलाश खड्काले स्याउबाट आम्दानी गर्ने आशाले ८०० बोट रोप्नुभएको थियो । तीमध्ये करिब ३०० बोटमा लटरम्मै फलेका छन् । बगैँचा स्याउले भरिँदा उनलाई खुसी लाग्छ तर स्याउ टिपेर घरमा थुपारेपछि चिन्ता सुरु हुन्छ । ‘थुप्रिएको स्याउ बेला मौकामा बेचेर छोराछोरी पाल्न, पढाउन मुस्किल देख्छु’, उनी भन्छन्, ‘छोरी काठमाडौँ पढ्छे । स्याउकै पछि लाग्दा अहिले उसलाई दिने खर्च पनि उठाउन नसकिने अवस्था भयो । अब विदेशतिर जाने सोचिरहेको छु ।’
गत वर्ष उनले ज्याला दिएर डोकामा स्याउ बोकेर बाजुराको काँडा–डोगडीसम्म पुर्याउनुभयो । तर, त्यहाँ पनि स्याउ किन्ने ग्राहक भेटिएनन् । स्याउ लिएर फर्कन सम्भव भएन । “कोदो, मूला, आलुसँग साटेर ल्याएका थियौँ । यो पटक पनि त्यस्तै गर्नुपर्ने छ’, उनले भने ।
गाउँघरमा स्याउ किनेर खाने मान्छे नै नभएको उनी बताउँछन् । ‘हाम्रोतिर गाउँ खालीजस्तै भइसके । खासै मान्छे नै छैनन् । टाढा पुर्याउन सक्ने क्षमता नै छैन । व्यवस्थित रस्टिक स्टोर भए बेसिजनमा पनि बेचिन्थ्यो कि १’ उनी भन्छन् ।
कृषकको सहारा बन्दै आरएसडिसी
कृषकको यही समस्यालाई सम्बोधन गर्न ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी) ले स्याउ बजारीकरणको पहल थालेको छ ।खप्तडछान्ना गाउँपालिकामा सहकारीमार्फत कृषि क्षेत्रमा काम गरिरहेको आरएसडिसीले थोरै भए पनि बजारसम्म पुर्याउने तयारी गरेको आरएसडिसीका कार्यक्रम संयोजक धिरेन्द्र रोकायाले बताए ।
रोकायाका अनुसार संस्थाले पहिलो चरणमा १० क्विन्टल स्याउ सङ्कलन गरी धनगढी पुर्याउने छ । किसानलाई सहज होस् भनेर ढुवानी खर्चको केही हिस्सा संस्थाले व्यहोर्ने उनले बताए । ‘सिजनमा सबै ठाउँमा हुन्छ । त्यो मूल्यभन्दा सस्तो दिन सकेमा बजार पाउने आशा रहन्छ । त्योभन्दा बढी भए थन्किन सक्छ’, उनले बताए ।
पहिलो चरण परीक्षण भएको र यसमा सफलता मिल्यो भने पछि ठूलो परिणाममा पठाउन सकिने उनले बताए । बजारले माग गरेमा उत्पादनसँगै सङ्कलन, ग्रेडिङ, प्याकेजिङ, भण्डारण, ढुवानीका लागि सहकारीलाई सशक्त बनाउने र कृषकलाई थप उत्पादनमा डोर्याउने सोचमा संस्था रहेको उनले बताए ।









प्रतिक्रिया