१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

वाणगंगा–९ को भर्तापुरमा सराए नाच भव्य रूपमा सम्पन्न



बाबुराम रायमाझी भलवाड, कार्तिक ९

कपिलवस्तुको वाणगंगा नगरपालिका–९ स्थित भर्तापुरमा रहेको दुर्गा भगवती मन्दिरमा विजयादशमीको अवसरमा आयोजना गरिने परम्परागत सराए नाच भव्य रूपमा सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको दिन मन्दिर परिसरमा स्थानीय युवायुवती तथा वृद्धवृद्धाहरूको सहभागितामा सराए नाच सम्पन्न भएको छ ।सराए नाचमा सहभागीहरूले हातमा खुडा, तरबारलगायतका परम्परागत हतियार लिएर नौमती बाजाको ताल र लयमा ‘डुङ–डुङ, ह वाख्खै’ भन्दै मन्दिरको परिक्रमा गरेका थिए। परम्परागत बाजागाजा र सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न सराए नाचले स्थानीय क्षेत्रमा दशैँको रौनक थपेको थियो।
विजयादशमीको सातौँ दिन विधिपूर्वक मन्दिरमा भित्र्याइएको फूलपातीलाई कोजाग्रत पूर्णिमाका दिन नजिकै रहेको अमृते खोलामा पुरोहितद्वारा वैदिक विधिअनुसार विसर्जन गरिएको स्थानीय समाजसेवी हरिबहादुर खनालले जानकारी दिनुभयो।

स्थानीय धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको सराए नाचले पुस्तौँदेखि चलिआएको मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरणमा योगदान पुर्‍याउँदै आएको छ। यस्ता पर्व तथा सांस्कृतिक कार्यक्रमले स्थानीय बासिन्दाबीच आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउनसमेत मद्दत पुर्‍याउने विश्वास गरिएको छ।भर्तापुरस्थित दुर्गा भगवती मन्दिरमा सम्पन्न सराए नाचले स्थानीय धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई उजागर गर्दै दशैँ पर्वको समापनसँग जोडिएका परम्पराहरूलाई निरन्तरता दिएको छ।

प्रकाशित मिति : १० कार्तिक २०८३ सोमबार ००:००  ८ : ३२ बजे