७ असार २०८३, आइतबार | Sun Jun 21 2026

भियतनाममा बाढीका कारण १३ जनाको मृत्यु



हनोइ।
भियतनाममा यसै साता आएको भारी वर्षा र त्यसपछिको बाढीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ। देशको मध्य भूभागमा आएको बाढीका कारण ठूलो भौतिक क्षति पुगेको भियतनामको प्राकृतिक प्रकोप नियन्त्रण समितिले जानकारी दिएको छ। मध्य भियतनामका पाँच ओटा प्रान्तमा बाढीले १४ जना व्यक्तिलाई बगाएर लगेको र तीमध्ये १३ जनाको शव भेटिएको तथा एक जना अझै बेपत्ता रहेको समितिले जनाएको छ।
सो बाढीले करिब १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली डुबाएको छ। त्यसैगरी करिब एक लाख ६३ हजार पशुपंक्षी बगाएको छ।
समितिका अनुसार बाढीबाट करिब १ सय २८ किलोमिटर सडकका साथै सिंचाइ प्रणालीमा पनि क्षति पुगेको छ।

भियतनाममा यस वर्ष आएको बाढी, पहिरो, भारी वर्षा तथा आँधीका कारण कम्तीमा १ सय ८९ जनाको ज्यान गइसकेको छ।

भियतनामको कृषि तथा ग्रामीण विकास मन्त्रालयका अनुसार यस वर्षको ११ महिनामा प्राकृतिक प्रकोपका कारण करिब ३९ करोड १३ लाख अमेरिकी डलर बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ। राससरसिन्ह्वा

प्रकाशित मिति : २७ मंसिर २०७५ बिहिबार ००:००  ८ : ४४ बजे