११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

सभामुखसँग चिनियाँ राजदूतको शिष्टाचार भेट



काठमाडौं ।
नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत होऊ यान्छीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरासँग भेटवार्ता गरेकी छिन्। नवनियुक्त चिनियाँ राजदुत यान्छीले सोमबार बिहान सिंहदरबारमा पुगेर सभामुख महरासँग शिष्टाचार भेट गरेकी हुन्। भेटमा नेपालको संघीय संसद् र चिनियाँ संसदबीचको सम्बन्धका विविध विषयमा छलफल गरिएको थियो।
त्यसैगरी नवनियुक्त चिनियाँ राजदुत यानछीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि सोमबार नै शिष्टाचार भेट गरेकी छिन्। सभामुख महरासँगको भेट लगत्तै उनले राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग पनि शिष्टाचार भेटवार्ता गरेकी हुन्।
भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल गरिएको थियो। नवनियुक्त चिनियाँ राजदूत यान्छी गत शनिबार राजदुतको कार्यभार सम्हाल्न नेपाल आएकी हुन्। काठमाडौं आएलगत्तै उनले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्म ओलीसँग शिष्टाचार भेट गरेकी थिइन्।
नवनियुक्त राजुदत यान्छी नेपालको राजनीतिलाई नजिकबाट नियालेकी कूटनीतिज्ञ मानिन्छ। जलविद्युत क्षेत्रको समेत विशेषज्ञता हासिल गरेकी उनले यस अघि नै नेपालको राजनीतिक नेतृत्वसँग सुमधुर सम्बन्ध कायम राखेको बताइएको छ। उर्दु भाषाका विज्ञ समेत रहेकी यान्छीलाई बेइजिङकी पाकिस्तान विशेषज्ञका रुपमा पनि लिइन्छ।

प्रकाशित मिति : ३० पुस २०७५ सोमबार ००:००  १० : ०७ बजे