८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दाङमा अवैध हतियार उद्योग सञ्चालन, दुई जना पक्राउ



दाङ । 

जिल्ला प्रहरी कार्यालय दाङले घरेलु तौरतरिकाबाट हतियार बनाउने उद्योग चलाउँदै आएका दुई जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका–७ भौवानाका ५९ वर्षीय जीतबहादुर बुढा र रुद्रमणि घर्तीलाई पक्राउ गरिएको हो ।

प्रहरी प्रवक्ता रामप्रसाद घर्तीका अनुसार भौवा नाकामा बस्ने बुढाको घरबाट पाँच थान बन्दुक, १२ बोर राइफल एक थान, एयरगन राइफल तीन थान, कटुवा पेस्तोल एक थान, रिभल्वर एक थान, सानो हतियार १२ थान तथा ठूलो हतियारको नाल २९ थान बरामद गरिएको छ । हातहतियार बनाउन प्रयोग गरिने आरनको मेसिन एक थान, पङ्खा घुमाउने फित्ता, काठको पङ्खा, रिङ, रेती, हेक्साब्लेट, हतौडा, पेचकस, छिना सनासो, उदाउने ढुङ्गा, सम्मीलगायत सामग्रीसमेत बरामद गरिएको छ ।

यस्तै सटगनको हतियारमा प्रयोग हुने खोका १० थान, बोल्टु, काजा, सुइरो, विभिन्न आकारको स्क्रु र पित्तल गलाउने धूलो पनि सो उद्योगमा फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घर्ती र बुढाले सशस्त्र द्वन्द्वको समयमा पनि हतियार बनाउने गरेको पाइएको छ । प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेका अनुसार घरेलुरुपमा चलाइरहेको उक्त उद्योगमा बनाइएका हतियार भारतको बजारमा बिक्री गरिँदै आएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७५ सोमबार ००:००  २ : ४४ बजे