९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

नागरिकको मन जित्ने काम गर्न सरकारलाई विवेकशीलको सुझाव



काठमाण्डौ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको अवसरमा विवेकशील साझा पार्टीले बधाई दिएको छ ।शुक्रबार पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘अस्थिर सरकारको चपेटाबाट मुलुक गुज्रिएको विगतको परिप्रेक्ष्यमा वर्तमान सरकारले एक वर्षको कार्यकाल पूरा गरेकोमा विवेकशील साझा पार्टी प्रधानमन्त्री केपी ओलीलाई हार्दिक बधाई दिन चाहन्छ ।’

त्यष्स्तै बलियो जनमत प्राप्त गरेको यो सरकार गठन हुँदा आमसर्वसाधारण र आफ्नो पार्टीले ठूलो अपेक्षा राख्दै शुभकामना दिएको बताउँदै विवेकशील साझा पार्टीले दुई तिहाईको सरकार हुँदाहुँदै पनि सरकारको काम–कारबाही पीडादायी ढंगबाट निराशाजनक देखिएकोमा चिन्तित भएको बताएको छ ।
विज्ञप्तिमा भ्रष्टाचार चुलिँदै गएको भन्दै लेखिएको छ, ‘दण्डहीनताले प्रश्रय पाइरहेको छ। अर्थतन्त्रका प्रमुख सूचकहरुको संकेत नकारात्मक छन् । निजी क्षेत्र र लगानीकर्तामा उत्साह छैन। विकास र पूर्वाधार निर्माणमा अलमल र चरम नैराश्य छ ।’

विवेकशील साझाले एक वर्षको कार्यकाललाई गम्भीर समीक्षा गरी अगाडिको बाटो तय गर्नका लागि सरकारलाई आग्रह गरेको छ । सरकारका कामकारबाहीप्रति आलोचनात्मक भएर प्रधानमन्त्री स्वयंले अशोभनीय भाषा प्रयोग गर्दै असहिष्णु हुनुभन्दा आलोचनालाई सकारात्मक रूपमा ग्रहण गरी आम नागरिकको मन जित्ने कार्यशैली अपनाउन विवेकशील साझाले सरकारलाई सुझाव दिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५ शुक्रबार ००:००  १० : ०३ बजे