८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार पोखराको रामघाटमा हुने, यस्तो छ तालिका



पोखरा ।
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि पोखरामा गरिने भएको छ। बिहीबार काठमाडौँमा नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी नेकपाले गर्ने श्रद्धाञ्जली कार्यक्रम पछि अधिकारीको शव पोखरा ल्याइने नेकपा गण्डकीले जनाएको छ। पोखरा ल्याइए लगत्तै अधिकारीको शव पोखरा प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि नयाँबजार, महेन्द्रपुलको बाटोबाट रानी पौवा हस्पिटल चोक हुँदै रामघाटमा पुर्‍याएर राजकीय सम्मान साथ अन्त्येष्टि गरिने जनाइएको छ। त्यस्तै, फागुन १९ मा सबै जिल्लामा नेकपाको आयोजनामा शोकसभा गर्ने भएको छ। तीन दिनसम्म पार्टीको सबै तहको कार्यलयमा पार्टीका झन्डा आधा झुकाइने नेकपा गण्डकीले जनाएको छ। अधिकारीको सम्मान र अन्त्यष्टिको लागि नेकपा कास्की र गण्डकी प्रदेश सरकारको समन्वय गरेको छ। बिहीबार काठमाडौंस्थित त्रिवि टिचिङ अस्पतालमा पोस्टमार्टमपछि नेकपाको केन्द्रीय कार्यालयमा अधिकारीको शवलाई श्रद्धाञ्जलीका लागि राखिने छ। त्यसपछि टुँडिखेलमा श्रद्धाञ्जलीका लागि लगिनेछ। सरकारले अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५ बिहिबार ००:००  ७ : २७ बजे