८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

विप्लवलाई जेलमा बसाएर भएपनि राजनीतिको मूलधारमा ल्याउने प्रधानमन्त्री ओलीको दाबी



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द विप्लवलाई जेल बसाएर भए पनि राजनीतिको मूलधारमा ल्याउने बताएका छन् ।
विप्लव सहज रुपमा नआए जेलमा बसाएर भएपनि उनलाई राजनीतिको मूलधारमा ल्याइने प्रधानमन्त्रीको भनाइ छ । सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपा को संसदीय दलको वैठकलाई सम्बोधन गर्दै ओलीले विप्लव नेतृत्वको नेकपाप्रति संकेत गर्दै नेता मार्न पठाउनेहरुलाई छूट दिन नसकिने पनि बताए ।
‘फलाने नेता मार्न भनेर मानिसहरु पठाउनेलाई सहज रुपमा छूट दिन सकिदैन,’ ओलीले वैठकमा भने ।

प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको समूहलाई राजनीतिक मुलधारमा ल्याउन कानूनी कारबाहीको बाटो अवलम्बन गर्ने पनि बताए । ‘सहज रुपमा आउनुहुन्छ भने आउनुहुन्छ, होइन भने जेलमा बसेर आउनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘जेलमा बसाएर भए पनि हामी मूलधारमा ल्याउँछौ ।’

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई अगाडि बढाइने पनि बताए । ओलीले आज ९सोमबार० बस्ने मन्त्रिपरिषद् वैठकले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने सम्बन्धमा सिफारिस समिति गठनको निर्णय गर्ने संभावना रहेको पनि बताए । ‘शान्ति प्रक्रियालाई लामो समयसम्म जान दिएर कसैको खेल्ने मैदानको रुपमा शान्ति प्रक्रिया रहन दिँदैनौ,’ ओलीले भने ।

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  ७ : ३३ बजे