१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

२७ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै



काठमाडौँ ।
सरकारले वैशाख ६ र ७ गते देशभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाका अनुसार शुक्रबार र शनिबार गरी दुई दिन ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख ६८ हजार ५ सय ४० जना बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका २३ लाख ५६ हजार ८ सय ४३ बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ ।
‘भिटामिन ए’ को कमीले बालबालिकामा हुन सक्ने विभिन्न रोगहरु जस्तै झाडापखाला, कुपोषण, दादुरा, जुकाको समस्या लगायतका रोग न्यूनिकरण गर्न सरकारले सन् २००१ देखि हरेक ६र६ महिनामा देशैभर यो कार्यक्रम संचालन गर्दै आएको छ । महाशाखाले यी सबै कार्यक्रमका लागि देशभर ३६ हजार बुथ तोक्नुका साथै अभियानमा ५१ हजार ४ सय ७० जना महिला स्वयंसेविका र ९ हजार २ सय ४६ जना स्वास्थ्यकर्मी गरी ६० हजार ७ सय १६ जना जनशक्ति परिचालन गरेको जनाएको छ ।
शुक्रबार देशभरका खोप केन्द्रहरुमा महिला स्वास्थ्य स्वयंसेविकाले भिटामिन ए र जुकाको औषधि खुवाउने र शुक्रबार छुटेका बालबालिकालाई शनिबार स्वास्थ्य संस्थामा गएर खुवाउन सकिने माहाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६ शुक्रबार ००:००  ७ : २६ बजे