अराज बेल्बासे, चन्द्रौटा ।
रकमको चलखेल हुने र सेवाग्राही चाप हुने मुख्य कार्यालय मालपोत र नापी कार्यालय हो । त्यस्तै अनेक गुनासोले भरिएका छन् शिबराज नगरपालिकामा रहेका यी नापी र मालपोत कार्यालय । सेवाग्राहीको निकै भीडभाड रहने नापी तथा मालपोत कार्यालय चन्द्रौटामा कर्मचारीहरुले काम गर्ने बेलामा बिभिन्न बहानामा काममा ढिलासुस्ती गर्ने गरेको सेवाग्राहीको गुनासो छ । यति मात्र होइन मालपोत र नापी कार्यालयमा सेवा लिन जाँदा आवश्यक भन्दा धेरै पैसा लगेरै जानुपर्छ भन्ने मानसिकता आम नागरिकमा छ ।
सरकारी राजस्व बाहेक अरु पैसा तिर्नु नपर्ने भए पनि नापी तथा मालपोत कार्यालयमा अधिकांश सेवाग्राहीले ५ सयदेखि १ हजारसम्म अतिरिक्त रकम तिर्न बाध्य छन् । सेवा लिन आउने सेवाग्राही लेखापढीबाट ठगिन शुरु हुन्छन् र अन्त्यसम्म ठगिरहन्छन् । मालपोतमा भरिने फाराममा समेत बोर्डमा लेखिएभन्दा बढी रकम लिने गरिएको छ । सम्पूर्ण सिफारिसमा बोर्डमा लेखिएको भन्दा १ हजारसम्म बढी तिरेर काम गराउन बाध्य हुँदा समेत सम्बन्धित निकायबाट अनुगमन नभएकोले सबैको मिलेमतो हुनसक्ने सेवाग्राही बसुन्धारा पाण्डेले वताइन् ।
यता नापी कार्यालयमा कित्ताकाट गरेको कुनै रकम नलाग्ने भएपनि त्यहाँका कर्मचारीले भने खुलेयाम कित्ताकाटको रकम माग्ने गरेको पाइएको छ । कर्मचारीले सेवाग्राहीसँग रकम माग्ने गरेको खबर कार्यालय प्रमुखलाई जानकारी गराउँदा पनि प्रमुख भने बेखवर बनेका छन् । सेवाग्राहीसँग रकम मागेको गुनोसो गरेपछि नापी प्रमुख देवेन्द्रनाथ यादवलले कर्मचारीलाई बोलाएर माफी मगाए । तर मालपोत प्रमुख लक्ष्मण चालिसेले भने त्यसलाई हेरौंला भन्दै तर्किन खोजे ।
नापी कार्यालय प्रमुख देवेन्द्रनाथ यादवले अन्य शुल्क लिन नपाइने जानकारी दिएका छन् । “कार्यालयका केही कर्मचारीहरुले पैसा मागेको भनी गुनासो आएको छ, यस विषयमा अनुसन्धान भइरहेको छ । यदि पैसा लिएको वा मागेको भेटिएमा कारवाही हुन्छ” –यादवले भने ।
यस्तै मालपोत कार्यालयको राजस्व फाँटमा समेत खुल्ला पैसा छैन, भन्दै ५० रुपैयासम्म पनि फिर्ता नदिने गरेको सेवाग्राहीको गुनासो छ । सेवाग्राहीलाई फिर्ता गर्ने जिम्मेवारी राजश्व शाखाको भएपनि अनेक बहानामा खुल्ला छैन भन्दै चानचुने रकम फिर्ता नगर्ने गरेको तथ्य बाहिरिएको छ ।
मालपोतमा रहेका कागजात निकै महत्वपूर्ण हुने गर्छन् । कर्मचारी बाहेकले मनपरी चलाउन नपाउने भएपनि चन्द्रौटा मालपोत कार्यालयमा भने बाहिरी लेखापढी व्यवसायीहरुले कर्मचारी नभएपनि आफ्ना काम गर्ने श्रेस्ता, बिभिन्न खाताहरु खुलेयाम पल्टाउने गरेका छन् । त्यसतर्फ कार्यालय प्रमुख चालिसेको ध्यान पुग्नु त परै जाओस् सेवाग्राहीले श्रेस्तामा फोटो टाँसेको भन्दै तर्किने र जोगिने काम गरे । लेखापढी ब्यवसायीहरुले कागजपत्र भएका घर्राहरु मनपरी रुपमा निकाल्ने तथा आफ्नो काम गर्ने गरेपनि मालपोत प्रशासन भने मुखदर्शक बन्ने गरेको छ ।
कार्यलय प्रमुख चालिसे कर्मचारीले सेवाग्राहीलाई दुःख दिने गरेको पाइएमा त्यसबारे अनुसन्धान गर्ने वताए । बाहिर हल्ला मात्र हुने गरेको तर गुनासो आपूmसँग नआउने गरेको चालिसेले जनाए । मालपोतमा हुने काम लेखापढी व्यवसायीले सहयोगीको रुपमा कार्यालयभित्र गएर नपाउने कार्यालयका प्रमुखले बताए । लेखापढी गर्नुपर्ने काम कानुनत लेखापढी व्यवसायीले भाषा मिलाएर लेख्न पाउँछन् । सो वापत उनीहरुले मापदण्ड अनुसार सेवा शुल्क लिने गर्दछन् । लेखापढी गर्नेले सेवाग्राहीको फाइल बोकेर कार्यालयमा काम गर्ने गरेको सेवाग्राहीको गुनासो छ । लेखापढी गर्नेले नै विभिन्न शाखामा फाइल बोकेर पुग्ने र काम गराउने गरेको जनगुनासो छ ।
लेखापढीमा पनि मनपरी असुली
चन्द्रौटा मालपोत कार्यालय नजिकै लेखापढी व्यवसायीको कार्यालय छ । सामान्यत राजीनामा तथा बकस पत्र, नामसारी, अंशभण्डा, अंश भरपाई, विगो नखुलेको वा से.बकसपत्र, तमसुकदेखि साधारण निवेदनसम्मका सेवाहरु दिने भनी उल्लेख छ । सेवाग्राही पनि सिधै कार्यालयमा नगएर लेखापढी व्यवसायीको सम्पर्कमा जाने गर्दछन् । विभिन्न सेवाका लागि दररेट पनि कायम भएको छ । तर उल्लेखित दररेटभन्दा बढी नै असुली गर्ने गरेको सेवाग्राहीको गुनासो छ ।
लेखापढी व्यवसायीले विभिन्न शीर्षकमा गर्ने कामको रकम उल्लेख गरेभन्दा धेरै लिने गरेका छन् । राजीनामा, बकसपत्र वापतको शुल्क रु. १ हजार भनेर उल्लेख भएपनि रसिद भने १ हजार ५ सयको दिने गरेको पाइएको छ । सेवाग्राहीलाई हतार हुने र कार्यालयमा रहेका कर्मचारीले ढिलासुस्ती गरिदिँदा सेवाग्राही विचौलियाको फन्दामा पर्ने गर्दछन् । कार्यालयका कर्मचारीले नियमसंगत काम गर्ने हो भने विचौलियाले खेल्न नपाउने स्थानीय एक सेवाग्राहीले बताए ।






प्रतिक्रिया