१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कपिलवस्तुका कृषकले फोनबाटै समस्या हल गर्न सक्ने



कपिलवस्तु ।
किसानलाई मौसम, प्रविधि र जलवायुको विषयमा जानकारी दिने उद्देश्यले कपिलवस्तुका ६३ वटा कृषक समूहलाई मोबाइल फोन वितरण गरिएको छ। ‘हाम्रो कृषि’ एप्लिकेसनमार्फत मौसम तथा प्रविधिसम्बन्धी जानकारी दिने तथा कृषकलाई परेको समस्या समाधान मोबाइलबाट गर्न कृषकलाई मोबाइल वितरण गरिएको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ। जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत कृषि भूमि व्यवस्थापन सूचना प्रणालीले एक कार्यक्रमबीच मोबाइल हस्तान्तरण गरेको हो।
एप्लिकेसनमार्फत जलवायुमा एक सातापछिसम्म हुने परिवर्तनबारे जानकारी लिन सकिने कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख रामगोबिन्द आर्यले बताए। ‘एक हप्तापछि पर्ने पानी, हावाहुरी, असिनाबारे प्रारम्भिक जानकारी एप्लिकेसनमार्फत प्राप्त गर्न सकिन्छ र सोहीअनुसार कृषक सचेत बन्न सक्छन्,’ उनले भने। जिल्लाका उत्कृष्ट कृषि समूहमध्ये कृषिका ३८ र पशुसेवा तर्फका २५ समूहलाई मोबाइल र सिमकार्ड हस्तान्तरण गरिएको हो।
नेपाल टेलिकमको सहकार्यमा उक्त मोबाइलमा प्रत्येक महिना १५ एमबी डाटा निःशुल्क उपलब्ध गराइने भएको छ। त्यस्तै, कृषि समूहलाई रेनगेज तथा थर्मो्मिटर गरेर ३० हजार बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ।
कृषिसम्बन्धी जानकारी मोबाइलमा आएपछि कृषकलाई राहत हुने सृजनशील कृषि समूह बाणगंगा नगरपालिका, ११ बरवाका अध्यक्ष कमला मरासिनीले बताइन्।
प्रविधिमैत्री कृषि प्रणाली कृषिलाई प्रविधिसँग जोडेर लैजाँदा उत्पादकत्व बढ्ने जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना निर्देशक शिवनन्दन प्रसाद शाहले बताए।
कृषक समूहलाई वितरण गरिएका मोबाइलको सही उपयोग गर्न तरकारी जोन कपिलवस्तुका प्रमुख राकेश ओझाले सुझाव दिए।

प्रकाशित मिति : ११ असार २०७६ बुधबार ००:००  ८ : ३८ बजे