१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँ बढ्यो



चितवन ।

नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ। सङ्घले शनिबारदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु १७० कायम गरिएको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए।

यसअघि कृषकले ठूलो अण्डाको प्रति क्रेट रु २०० र मध्यम अण्डाको प्रति क्रेट रु ११५ पाउँदै आएका थिए। सङ्घका अध्यक्ष कँडेलले बजारमा अण्डाको भण्डार कम भएपछि मूल्य वृद्धि गरिएको बताए। जिल्लामा लामो समयदेखि मागभन्दा बढी अण्डा उत्पादन भएपछि भाउ घटेको थियो। अण्डाको भाउमा गिरावट आएसँगै लेर्यस कुखरापालक लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्दै आइरहेका थिए।

कँडेलका अनुसार प्रति अण्डाको लागत मूल्य रु १० पर्न जान्छ तर कृषकले रु सातमा वितरकलाई बिक्री गर्दै आएका थिए। यो अण्डा बजारमा एउटाको रु १५ मा पाइन्छ। नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ। यस पेशाबाट प्रत्यक्ष रूपमा एक लाख ७५ हजार व्यक्तिले रोजगारी पाएका छन्। दुई हजारभन्दा बढी किसान लेयर्स कुखुरापालनमा सङ्लग्न छन्। देशमा कुखुरापालन व्यवसायमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउँछन्। यो व्यवसायमा ७० अर्बभन्दा बढी लगानी रहेको छ।

प्रकाशित मिति : १४ असार २०७६ शनिबार ००:००  ६ : ०७ बजे