२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

सरकारका कामकारवाही अलोकप्रिय बन्दै गयोः नेता नेपाल



काठमाण्डौ ।
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारका कामकारवाही अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।पूर्व सांसद मञ्च नेपालको १९ औँ साधारण सभालाई मंगलबार काठमाण्डौमा सम्बोधन गर्दे नेता नेपालले पूर्वाधार विनाका योजना घोषणा, मनपरी नियुक्ति अवकासलगायत क्रियाकलापका कारण नागरिकमा असन्तुष्टी बढ्दै गएको बताउनुभएको हो ।
न्यूनतम पूर्वाधार विना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या श्रृजना भएको टिप्पणी उहाँले गर्नुभयो । व्यवहारमा पुष्टी नहुने सिद्धान्त सही सिद्धान्त नहुने भन्दै उहाँले परिर्वतनको आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो ‘कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ । सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छ । व्यवहारले सही सावित गर्यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्दछ । व्यवहारले ठिक ढंगले पुष्टि गर्न सकेन भने त्यो सिद्धान्तलाई परिर्मा्जित गर्नुपर्ने आवश्यकता पर्छ ।’
नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डलाई लिएर भएका विभिन्न टिप्पणीहरुको सन्दर्भमा उहाँले आफ्नो देशका लागि हुने लाभ हानीको विश्लेषण गरी निर्णय गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित मिति : १७ असार २०७६ मंगलबार ००:००  २ : १७ बजे