९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

फेरि आन्दोलन गर्ने डा. केसीकोे चेतावनी



काठमाडौं ।
डा. गोविन्द केसीले मिडिया काउन्सिल विधेयक फिर्ता गर्न माग गरेका छन्। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तता खोस्ने र आयोगलाई प्रभावहीन बनाउने नियतले ल्याइएको संशोधन विधेयक पनि तत्काल खारेज गर्न माग गरेका हुन्। चिकित्सा शिक्षा ऐनका माफियामुखी प्रावधानहरू हटाउने गरी ऐन संशोधन गर्न तथा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्यतम तथा कार्यक्षमता प्रमाणित भइसकेको व्यक्ति नियुक्त गर्नुपर्ने बताए। स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि लामो समयदेखि संघर्ष गरिरहेका केसीले सरकारले ल्याएका विधेयक फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
’चिकित्सा क्षेत्रका यावत विकृतिहरू रोकेर गुणस्तरीय जनशक्ति उत्पादनका लागि दुरुस्त ऐन र त्यस अन्तर्गत नियमनका लागि बलियो चिकित्सा शिक्षा आयोग हुनुपर्छ भन्ने माथेमा कार्यदलको निश्कर्षपछि हामी निरन्तर त्यसका लागि लडिरहेका छौं’, केसीले भने, ’यसबीच राज्यबाट पाइला पाइलामा हामीलाई झुक्याउने काम भयो। हामीसित भएका सम्झौताहरू बारम्बार उल्लंघन भएका छन्।’ विज्ञप्तिमा लामो सत्याग्रहपछि २०७५ साउन १९ गते चिकित्सा शिक्षा विधेयकमा बुँदागत रूपमा संशोधन गरेर पारित गर्ने प्रतिबद्धतासहित सरकारले सम्झौता गरे पनि पछि सुधारको मर्म्विपरीत प्रधानमन्त्रीकै निर्देशनमा माफियामुखी प्रावधानहरू राखेर जबर्जस्ती ऐन पारित गरिएको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २६ असार २०७६ बिहिबार ००:००  ३ : ५४ बजे