२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

सावित्राको निर्णायक गोलसँगै नेपाल नादेझ्दा कपको फाइनलमा



काठमाडौं ।
स्टार फरवार्ड सावित्रा भण्डारीको निर्णायक गोलसँगै ताजकिस्तानलाई पराजित गर्दै नेपाल किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले ताजिकिस्तानलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

खेलको ८६औं मिनेटमा सावित्राले निर्णायक गोल गरेकी थिइन् । खेलको मध्यभागबाट आएको फ्रिकिक बलमा पेनाल्टी एसियाबाट सावित्राले हेडिङ गोल गरेकी हुन् ।

अब नेपालले बिहीबार हुने फाइनलमा उज्वेकिस्तानको सामना गर्नेछ । लगातार दुई खेल जित्दै उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ ।

चार देश सहभागी प्रतियोगितामा नेपालले पहिलो खेलमा किर्गिस्तानलाई ८–२ ले पराजित गरेको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो ।

नादेझ्दा कपमा नेपालससहित आयोजक किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान खेलिरहेका छन् ।

नेपालले आगामी मंसिरमा हुने दक्षिण एसियाली खेलकुद सागको तयारीका लागि यो प्रतियोगिता खेलेको हो ।

प्रकाशित मिति : २४ भदौ २०७६ मंगलबार ००:००  ७ : ०५ बजे