२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

दशैंको समयमा प्रदेश ५ मा ८५ सवारी दुर्घटना‚ २४ जनाको मृत्यु



विष्णुकुमार आले, अर्घाखाँची ।
दशैंको बेला नेपालमा धेरै सवारी दुर्घटना हुने गरेको छ। यस पटकको प्रदेश ५ मा दशैंको समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ। ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ बुटवलका अनुसार असोज १२ देखि २४ सम्म प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी २० पुरुष र चार महिला गरी २४ जनाको मृत्यु भएको हो। सवारी दुर्घटना र मृत्यु हुनेको संख्या अघिल्लो वर्षको दशैंभन्दा बढेको प्रादेशिक ट्राफिक कार्यालयका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रामप्रकाश शाहले बताए। यस पटक सवारी दुर्घटनामा रुपन्देही र पश्चिम नवलपरासीमा ४र४, कपिलवस्तु, अर्घाखाँची, प्युठान र रोल्पामा ३-३, बाँकेमा २, दाङ र बर्दियामा १र१ जनाको मृत्यु भएको शाहले जानकारी दिए। दुर्घटनामा परी ६२ जना गम्भीर घाइते र ५८ जना सामान्य घाइते भएका थिए। दशैंको अवधिमा ८५ वटा सवारी साधन दुर्घटनामा परेका थिए। सबैभन्दा बढी ४१ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए। जिल्लागत तहमा सबैभन्दा बढी बाँकेमा १२ वटा, रुपन्देहीमा १०, पश्चिम नवलपरासी र दाङमा ८-८, कपिलवस्तुमा ७, बर्दियामा ५, पाल्पा र प्युठानमा ३-३, रोल्पामा २, अर्घाखाँची र गुल्मीमा १र१ दुर्घटना भएका थिए। पूर्वी रुकुममा भने सो अवधिमा कुनै दुर्घटना नभएको प्रहरीको तथ्यांक छ। ट्राफिक कार्यालयका अनुसार दुर्घटनाहरुमध्ये धेरै तीव्र गति र चालकका गल्तीका कारण भएका छन्। २५ दुर्घटना तीव्र गति र चालकको लापरबाहीले २२ घटना भएका छन्। त्यसैगरी ओभरटेक गर्ने क्रममा ४, मादक पदार्थ सेवन गरी सवारी हाक्दा ३, यान्त्रिक गढबढी ३, ओभर लोड र यात्रुको गल्तीका कारण एक एक दुर्घटना भएको शाहले बताए। समयको हिसाबले सबैभन्दा बढी दुर्घटना दिउँसो १२ बजेदेखि बेलुका ६ बजेको समयमा भएका छन्। सो समयभित्र २५ वटा दुर्घटना भएका थिए। त्यसैगरी बेलुका ६ देखि राति १२ बजेसम्म २१ वटा, राति १२ देखि बिहान ६ बजेसम्म २ वटा र बिहान ६ देखि दिउँसो १२ बजेसम्म १२ वटा दुर्घटना भएका थिए।

६ हजार ७६३ चालक कारबाहीमा

दशैंको समयमा असोज १२ देखि असोज २४ सम्म ट्राफिक नियम उल्लघंन गरी सवारी चालक चलाउने प्रदेश ५ का १२ जिल्लामा ६ हजार ७६३ सवारी चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट ४० लाख ६० हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। सबैभन्दा बढी कारबाही मोटरसाइकल चालकहरु परेका छन्। २३ सय ३९ वटा मोटरसाइकल र स्कुटर चालकलाई कारबाही भएको थियो। जसबाट १४ लाख ५३ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। त्यसै गरी सो अवधिमा १ हजार ५२ बस, १२ सय ७७ जिप कार, टेम्पो २२३, ट्रक १४ सय ४९, टेक्टर ४ सय २३ वटा चालक कारबाहीमा परेका छन्।

प्रकाशित मिति : २९ आश्विन २०७६ बुधबार ००:००  २ : १८ बजे