२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

हत्या आरोपमा नवलपरासीबाट युवक पक्राउ



नवलपरासी ।
सुस्ता गाउँपालिका–५ बेल्वानीका ३५ वर्षीय राजकुमार बाँसफोरको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उनकै आफन्त प्रतापपुर गाउँपालिका–६ का २१ वर्षीय सञ्जय डोम रहेका छन्। राजकुमारको शव मङ्गलबार प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नहरको पानीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो। उनको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
घटनास्थल नजिकै भारतीय नम्बरप्लेटको मोटरसाइकल, घडी, रगत र मोबाइल फेला परेको थियो। मृतकको टाउको, आँखा र हातमा चोट लागेको छ। पक्राउ परेका डोमले हत्या गरेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। सोमबार राति दुवै पक्षबीच सामान्य कुरामा वादविवाद भएपछि आफूले धारिलो हतियार प्रयोग गरी हत्या गरेको डोमले बयान दिएका छन्।

प्रकाशित मिति : १ कार्तिक २०७६ शुक्रबार ००:००  १ : ५९ बजे