२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बुटवलमा खुल्यो अत्याधुनिक तिनाउ इन्टरनेश्नल हस्पिटल (न्यूरो ट्रमा सेन्टर)



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा अत्यधिक सुविधा सम्पन्न तिनाउ इन्टरनेश्नल हस्पिटल खुलेको छ । यस क्षेत्रकै चर्चित विषय विषेषज्ञ डाक्टर र उद्योयीहरुको संलग्नतामा बुटवलको सुख्खानगरमा न्यूरो ट्रमा सेन्टरसहित अत्याधुनिक सुविधासम्पन्न हस्पिटल खुलेको हो । भाटभटेनी सुपर मार्केट नजिकै रहेको हस्पिटलको प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्तीले शुक्रबार उद्घाटन गर्नुभयो ।

हस्पिटलको उद्घाटन गर्दै उहाले स्वास्थ्य संस्थाहरुले स्तरीय र सर्वसुलभ रुपमा सेवा प्रदान गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो–“बिभिन्न कारणले स्वास्थ्य संस्थामा कतिपय बेला जनताको विश्वास गुमेको छ, हस्पिटलले विश्वासिलो सेवा प्रदान गर्ने हो भने विरामीहरु हस्पिटल खोज्दै आउँछन् । विरामीहरु खोज्दै हिँड्नु पर्दैन ।” नेपालमा दुई किसिमका विरामी भएको भन्दै उहाँले उनीहरुको माग अनुसारको सेवा प्रवाह गर्न अस्पतालहरुलाई सुझाउनु भयो ।


समाजमा दुई थरी मानिस रहेको भन्दै उहाँले भन्नुभयो–“कसैले कम पैसामा सेवा पाइयोस् भन्ने चाहान्छन् कसैले कसैले जतिसुकै खर्च लागे पनि गुणस्तरीय र सुबिधा सम्पन्न सेवा पाइयोस् भन्ने चाहान्छन् । यी २ खाले मानिसको मनोविज्ञान अनुसार अस्पत्तालले सेवा प्रदान गर्न सके अस्पताल राम्रोसँग सञ्चालन हुन्छन् ।” अस्पतालका अध्यक्ष करुण खनालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा देबदह नगरपालिकाका प्रमुख हिरा केसी, अफिन रुपन्देहीका अध्यक्ष राम प्रसाद खरेल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल,पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेल, अस्पतालका सञ्चालक चिरन्जिबी जोशी लगायतले बोल्नु भएको थियो ।

अस्पतालका निर्देशक डा. राजेन्द्र संजेलका अनुसार समयको माग अनुसार हस्पिटलमा आइसियू लगायतका महत्वपूर्ण सुविधाहरु रहेका छन् । यस क्षेत्रमा विशवासिलो र गुणस्तरीय स्वास्थ्य सेवा नभएर धेरै विरामीहरु प्रदेश बाहिर धाउनु पर्ने भएको हुँदा हस्पिटल खोलिएको अध्यक्ष खनालले बताउनुभयो । यो हस्पिटलले प्रदेश ५ संगै प्रदेश ६ र ७ का सर्वसाधारणलाई पनि लाभ दिने खनालले बताउनुभयो ।

प्रकाशित मिति : १ कार्तिक २०७६ शुक्रबार ००:००  १० : ५७ बजे