२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सैनामैनाले ल्यायो लुम्बिनीसँग जोड्ने योजना



बुटवल ।

महामानव गौतमबुद्धको जीवनसँग सम्बन्धित सैनामैनामा रहेका पुरातात्विक स्थलहरुको संरक्षण गर्न र ती स्थललाई विश्वसामु उजिल्याउन सैनामैना नगरपालिकाले विभिन्न आयोजनाहरु अघि बढाएको छ ।

सैनामैना क्षेत्रमा बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थलहरु छरिएर रहेका छन् । तिनको संरक्षण र प्रवद्र्धन गरेर सैनामैना नगर क्षेत्रलाई लुम्बिनीको पर्यटनसँग जोड्न नगरपालिकाले चाहेको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई नगरका विभिन्न क्षेत्रबाट सडक सञ्जालले जोडिसकेको परिप्रेक्ष्यमा लुम्बिनीको पर्यटनसँग जोड्न नगरपालिकाले महत्वपूर्ण आयोजनाहरु अगाडि बढाउन थालेको हो । विदेशी विद्धान पर्सिवलले ठम्याएको सैनामैनाको दरबार भएको ठाउँलाई स्थानीय मानिसहरुले बुद्धको दरबार भन्ने गरेको डा. बिष्णु घिमिरेलाई उद्धृत गर्दै सैनामैना नगरपालिकाले प्रकाशित गरेको सैनामैना दर्पण पुस्तकमा उल्लेख गरिएको छ ।

राजा शुद्धोधनले आफ्ना पुत्र राजकुमार सिद्धार्थको मन बहलाउन राज्यभित्र तीन स्थानमा बनाएका तीनवटा दरबारमध्येको एउटा यही सैनामैनाको दरबार हुनसक्ने सम्भावनालाई नगरपालिकाले औँल्याएको हो । यस्तै, बुद्धसँग सम्बन्धित अर्को मान्यता समेत रहेको छ । गौतम बुद्धकी माता महामाया देवीले यसै सैनामैना क्षेत्रकी मैना नामकी सामगामकी नायिका रानीसँग सैना लगाएको हुँदा यस क्षेत्रको नाम सैनामैना रहेको किंवदन्तिलाई पनि इतिहासकारहरु स्मरण गर्छन् ।

सैनामैनामा एक दर्जनभन्दा बढी पुरातात्विक स्थलहरु रहेका छन् । यीमध्ये आधा दर्जन स्थानहरु बुद्धकालीन समयसँग कुनै न कुनै रुपले जोडिएको देखापर्छ । सैनामैना नगरपालिकामा करीब तीन दर्जन धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाहरु रहेका छन् । यी सम्पदाहरुलाई पर्यटकीय गन्तब्यको रुपमा नगरपालिकाले एकीकृत दीर्घकालीन योजना निर्माण गरी विकास गर्ने लक्ष्य राखेको नगरप्रमुख चित्रबहादुर कार्की बताए ।

सैनामैना नगरपालिकाको वडा नं. १ स्थित रानीबगियामा रहेको पर्राेहापरमेश्वर बोलबमधाम नगरको महत्वपूर्ण धार्मिक सम्पदाको रुपमा रहेको छ । हरेक वर्ष साउन महीनामा भारतबाट समेत बोलबम तीर्थयात्रीहरु दर्शनका लागि यहाँ आउने गर्दछन् । यस्तै, अर्को महत्वपूर्ण धार्मिक केन्द्र मलमलाधाम नगरको वडा नं. ६ स्थित चुरे शृङ्खलाको काखमा अवस्थित छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६ सोमबार ००:००  ६ : ४७ बजे