८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

प्रधानमन्त्रीद्वारा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास



काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गरेका छन्। सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवत–जावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सो सुरुङमार्ग चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित समारोहमा शिलान्यास गरिएको हो। प्रधानमन्त्री ओलीले त्यहाँस्थित शिलापत्र पनि अनावरण पनि गरे।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा शुरु गरिएको सो सुरुङ मार्गका लागि २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
त्यसका लागि जाइकाले १६ अर्ब रुपैयाँ सहयोग गर्ने र ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने जनाइएको छ।
प्रवेश मार्गसहित ५.५६ किमि सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताए।
करीब ६ अर्ब रुपैयाँ स्थानीय पीडितलाई मुआब्जा वितरणमै खर्च हुनेछ। चन्द्रागिरि नगरपालिकाको वडा नं १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको छ। हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ। चार वर्षभित्र सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुने गरी पहिलोपटक निर्माण गर्न लागिएको उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’ समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए।
सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको हो। सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो।
सुरुङमार्ग निर्माणका लागि यही असोज ६ गते जापानी हाज्मा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो। सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण गरिने भएको छ।
सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र सर्भिस सेन्टरं निर्माण हुने आयोजनाले जनाएको छ। रासस

प्रकाशित मिति : ४ कार्तिक २०७६ सोमबार ००:००  ४ : २९ बजे