प्यूठान ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले जनयुद्धमा सँगसँगै संघर्ष गरेका सारथी ढुलमुले, विजातीय र अस्पष्ट कार्य्दिशा लिएर हिँडेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला कमिटी प्यूठानले बुधबार नयाँ बजार जुम्रीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव ‘किरण’ले नयाँ जनवादी क्रान्तिसंगै जनताको राज्यसत्ता निर्माणको लागि दश वर्षे जनयुद्धमा लागेका नेताहरु प्रतिवद्धता भुलेर अलमलमा परेको बताएका हुन् ।
जनयुद्धको नेतृत्व गरेका प्रचण्ड कहिले पुँजावादी जस्तो त कहिले कम्युनिष्ट जस्तो भनेर ढुलमुल गर्ने, बाबुराम भट्टराई कम्युनिष्ट विचार त्यागेर विजातीय बन्ने र विप्लवले अस्पष्ट कार्य्दिशा लिएर एकीकृत जनक्रान्ति भन्दै हिँड्ने गलत काम गरेको मोहन वैद्यले टिप्पणी गरे ।
सरकारले पनि विप्लव समूहलाई नबुझी उनीहरुमाथि अराजनीतिक व्यवहार गरिरहेको वैद्यको भनाइ छ । विप्लव समूहमाथि प्रतिबन्धको निर्णय राजनीतिक नभएको भन्दै उनले यो समस्याको समाधान राजनीतिक ढंगले मात्र निकाल्नु सरकारलाई ध्यानाकर्षण गराए ।
नेकपा (नेकपा) सरकार राष्ट्रियताको बिषयमा गम्भीर नभएको नेता ‘किरण’ आरोप लगाए । नेपालले भारत बनाइदिएको नेपालको नक्सा प्रयोग गर्दा लिपुलेक क्षेत्रको आधा सय किलोमिटर जमिन नेपालमा नदेखिएको भए पनि दुईतिहाइको सरकारले यसबारे चासो नदिएको उनको आरोप छ । बेल्ट एण्ड रोड चीनको आर्थिक सहयोग नीति ठीक भए पनि अमेरिकाको हिन्द प्रशान्त रणनीतिमा भएको सैन्य साझेदारी गलत भएको उनले औँल्याए ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले उपनिर्वाचन वहिष्कार गर्ने भएको छ । वैद्यले प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव पार्टीले उपयोग गरे पनि सरकारको भण्डाफोर गर्न उपनिर्वाचनविरुद्ध वहिष्कारसहितको प्रचारात्मक कार्यक्रम गर्ने जानकारी दिए ।






प्रतिक्रिया