२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नक्सा सच्याउन साझाको माग



काठमाडौं ।
साझा पार्टीले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा पर्ने गरी भारतले हालै जारी गरेको राजनीतिक नक्सा सच्याउन आग्रह गरेको छ । भारतको कदमप्रति साझाले गम्भीर आपत्तिसमेत जनाएको छ ।
‘नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भू–भाग दाबी गरेकोप्रति साझा पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ,’ साझा पार्टीद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘भारत सरकारको यो कदम अन्तर्रा्ष्ट्रिय कानुनको विपरित नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप हो ।’

नेपालका दर्जनौं ठाउँमा भारतबाट भएको सीमा अतिक्रमणको साझा पार्टीले निरन्तररुपमा विरोध गर्दै आएको विज्ञप्तिमा जनाइएको छ ।

‘हामी नेपाल सरकारलाई भारतले हालै जारी गरेको नयाँ नक्साको बारेमा कडा आपत्ति जनाउँदै स्पष्टिकरण माग्न, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भू–भाग रहेको स्पष्ट पार्न र जारी नक्सा सच्याउन माग गर्न जोडदार आग्रह गर्दछौं,’ साझाले विज्ञप्तिमार्फत् भनेको छ ।

साझाले नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीको प्रयासमा भएको सीमा क्षेत्रका पिलरहरुको निर्माण, मर्मत र सर्वेक्षण कार्यमा प्रयोग भएका प्रविधि, ऐतिहासिक तथ्य एवं नाप नक्साका साथै हालसम्मको कार्यप्रगतिबारे आमनागरिकलाई जानकारी गराउन पनि सरकारसँग माग गरेको छ ।
‘नेपाल–भारतबीचको सदियौंदेखि रहिआएको घनिष्ट सम्बन्ध अझ नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा भारत सरकारको यो कदम प्रत्युत्पादक हुने साझा पार्टीको ठहर छ,’ साझाको विज्ञप्तिमा उल्लेख छ।

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसंग सम्बन्धित यो मुद्दामा नेपाल सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिन साझाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६ बुधबार ००:००  १२ : ०९ बजे