५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

भारतले नेपाली भूमि मिचेको विरोधमा विप्लवको आन्दोलन 



काठमाडौं ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भारतले नेपालको भूमिलाई आफ्नो नक्सामा राखेको विरोधमा आन्दोलन थालेको छ। नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू-भागलाई भारतमा गाभेकोमा आपत्ति जनाउँदै नेकपाले आन्दोलन थालेको हो।  पार्टी महासचिव विप्लवले बुधबार विज्ञप्ति निकालेर भारतको उक्त कदम नेपालमाथिको अतिक्रमणकारी रवैया र हमला भन्दै एकहप्ते संघर्षको कार्यक्रम घोषणा गरेका छन्। संघर्षका कार्यक्रममा भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेसम्मका कार्यक्रम घोषणा गरिएको छ।

विज्ञप्तिमा आगामी कात्तिक २१ गते मसाल जुलुश, २२ गते कोणसभा, २३ गते भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन गर्ने, २६ गते भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने उल्लेख छ।

प्रकाशित मिति : २० कार्तिक २०७६ बुधबार ००:००  ३ : १४ बजे