१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

आफै सवारी हाँकेका पूर्वराजा ज्ञानेन्द्र हात हल्लाउँदै हुँइकिए, स्वागतमा बसेका समर्थक जिल्ल !



मायादेवी अनलाइन, कपिलवस्तु ।
पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा बाणगंगामा लाइन लागेर बसेका समर्थकहरु जिल्ल परेका छन् । कपिलवस्तुको चार नम्बरमा आउने सूचना पाएर उनको स्वागतमा जिल्लाका बिभिन्न स्थानबाट पुष्पगुच्च लिएर विहानैदेखि लाइनमा बसेका सयौँ समर्थकहरु पूर्व राजा ज्ञानेन्द्र नओर्लिएपछि जिल्ल परेका हुन् ।

विहिबारको लागि पूर्व निर्धारित कार्यक्रम गोरुसिंगेको पशुपति मन्दिरमा तय भए पनि उनका समर्थकको माग अनुसार चार नम्बरमा ओर्लने तय भएको थियो । तर ज्ञानेन्द्र बाणगंगामा ओर्लिएनन। कालो सवारी आफै हाँकेर हुँइकिएका ज्ञानेन्द्र हात हल्लाउँदै गोरुसिंगेतर्फ प्रस्थान गरेपछि उनका समर्थकहरु जिल्ल पर्दै घर फर्केका छन् । उनको स्वागतको लागि दर्शन समाज कपिलवस्तु, शिव सेना नेपालका स्वयमसेवक, राप्रपानिकटका ब्यक्तिहरु र सर्वसाधारण जिल्ल मात्र परेनन् आयोजकलाई गाली गर्दै घर फर्केका छन् ।

वैरिया र प्रदर्शनी अगाडी गाडी रोकर सर्वसाधारणसंग भेट गर्ने कार्यक्रम भए पनि किन पूर्व राजाले गाडी रोकेनन् त्यो कारण भने खुलेको छैन । धार्मिक भ्रमणको लागि कपिलवस्तु पाल्नु भएका वडा महाराज धिराज ज्ञानेन्द्र सरकारलाई स्वागत छ लगायतका ज्ञानेन्द्रका फोटासहितका ब्यान र राष्ट्रिय झण्डा बोकर सयौँको संख्यामा उनका समर्थक कुरेर बसेका थिए ।

ज्ञानेन्द्रको जितपुरमा आगमन हुने भन्दै एघारौँ कपिलवस्तु महोत्सव आयोजना गरेको बाणगंगा स्पार्टट्स एण्ड वेलफेयर सोसाइटीले ब्यापक प्रचार पनि गरेको थियो । त्यसै अनुसार पूर्व राजालाई स्वागत गर्न ठाउँठाँमा सर्वसाधारण भेला भएका थिए । स्रोतका अनुसार पूर्वनिर्धारित कार्यक्रम बुद्धभूमिको गोरुसिंगेमा तय भएको र चार नम्बरमा नभएका कारण यसो भएको बताएका छन् भने कतिपयले संचारको राम्रो प्रबन्ध नभएको बताएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७६ शुक्रबार ००:००  ३ : ४५ बजे