८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सिन्धुपाल्चोक बस दुर्घटनाः १४ जनाको मृत्यु, भाग्यले बचाएको यी शिशु !



सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक बस दुर्घटनाका घाइतेहरु यस्तै होला भन्ने डरले अघिल्लो रात उतै बास बसेर आएको तर चालकको लापरबाही गर्दा दुर्घटना भएको बताउँछन् ।

शिशु कसको हो पत्ता लगाइदिनुस्

कार्केल लामा
दुर्घटनाले सबैतिर कोलाहल मच्चिएको छ । १४ जनाको मृत्यु भयो । सबैजसो एउटै गाउँटोलका मान्छे। १८ घाइतेलाई काभ्रेको धुलिखेल अस्पताल र खाडीचौरस्थित सिन्धुसदाबहार अस्पतालमा लगिएको छ।
यी मध्ये एउटी शिशु अलपत्र परेकी छिन्, कसको हो पत्ता लगाइदिनुर्पयो । म बलेफि गाउँपालिका वडा नम्बर ७ को अध्यक्ष हुँ । दुर्घटनाका मृतक र घाइतेको आफन्त आइरहेका छन् । तर, यी नानीको कोही पनि आएको छैन। लौन, पत्ता लगाउन मद्धत गरिदिनुर्पयो।

दैवले बचायो !

दीपक तामाङ
शनिबार नै दोलाखाको कालिञ्चोक मन्दिर दर्शनको लागि यात्रा सुरु गरेका थियौं। मेरो खास घर जुगल गाउँपालिकाको याङ्लाकोट हो। धेरै भयो भक्तपुरको आर्दश नगरमा बस्दै आएको। हामी सबैजसो एउटै गाउँले मिलेर कालिञ्चोक माइको दर्शन गर्ने र हिउँको रमाइलो हेर्ने भनेर गएका थियौं।

हिउँले ढाकेको रमाइलो हेरिसकेपछि कालिञ्चोक माई मन्दिर दर्शन गरियो। दर्शन गरिसकेपछि गएका जति सबै एउटै बसमा फर्कियौं। बसमा ३० जना जति थियौं। राति नै फर्किदा बाटो गाह्रो भएकाले दुर्घटना हुनसक्ने डरले लिसंखुपाखरको मुडे बजारमा बस्यौं। आइतबार बिहानै मुडेबाट झरियो। सबैजना हासीखुसी थिए ।

लामोसाँघु–जिरी सडक अलि कच्ची थियो। सुनकोसी स्वाराको ५ किलोमा आइपुग्दा बस अचानक हल्लिन थाल्यो। त्यसपछि के भयो मलाई थाहा छैन, म त बेहोस भएछु। मलाई उद्दार गरेर खाडीचौर बजारको सिन्धुसदाबहार अस्पताल लगिएछ। मेरो अस्पतालमै होश आयो। टाउको र आँखामा चोट लागेको छ। हेर्न पनि साह्रै गाह्रो छ।

चालकले जर्बजस्ती गर्दा यस्तो भयो
धानकाजी तामाङ
मेरो घर जुगल गाउपालिका पेपटार हो । हामी भक्तपुरमा बस्दै आएका छौं। सबै मिलेर कालिञ्चोक दर्शन गर्न गएको। फर्किदा दुर्घटना हुने डरले नै हामीहरु शनिबार बेलुका नहिँडी उतै बसेका थियौं।

सुरुदेखि नै बसको स्टेरिङ साह्रो भयो भन्दै चालकले गन्थन गर्दै थिए । ५ किलोभन्दा अलि माथि आइपुग्दा मोडमा बेस्कन ब्रेक लगाएको आवाज आयो । धुँवा पनि आयो । त्यसको दुर्गन्धले मुख छापिरहेको थियौं । चालक त झ्यालबाट हाम फालेर बेपत्ता भए । हेर्दा हेर्दै बस खस्यो । आफैं चढेको बस खसेको देख्दादेख्दै म एकदमै एकोहोरो भएँ । दुई वर्षे छोरो समातेर भाउजु दाई पछाडी बसेर अत्तालिदै हुनुहुन्थ्यो ।
बस तल आइपुगेर बजारियो । चर्को आवाजसँगै झ्यालको सिसा फुट्यो । म बसबाट बाहिर हुत्तिएर बेहोस भएछु । अस्पतालमा होश खुल्यो ।
बसमा धेरै मान्छे थिएनन् । त्यही ३०–३१ जना हो। चालकले जर्बजस्ती ल्याएकाले यस्तो भयो ।
भाउजुसहित दाईको छोरालाई सामान्य चोट लागेको छ। यही खाडीचौरको अस्पतालमा मसँगै उपचार हुँदैछ । दाई बित्यो भन्छन् । साह्रै रुन मन लागेको छ । म चाहिँ भाग्यले बाँचें । –ईकान्तिपुरबाट साभार

प्रकाशित मिति : २९ मंसिर २०७६ आइतबार ००:००  ३ : ४३ बजे