२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

कपिलवस्तुकी विमला घिमिरे राष्ट्रिय सभाकी उम्मेदवार



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रिय सदस्य तथा कपिलवस्तु सह–इन्चार्ज विमला घिमिरे राष्ट्रिय सभाको उम्मेदवार बनेकि छिन । नेकपा सचिवालय बैठकले प्रदेश नं. ५ को महिला कोटाबाट घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कपिलवस्तु निवासी घिमिरे ०७४ सालको स्थानीय निर्वाचनमा मेयर पदमा पराजित बनेकी थिइन । घिमिरेलाई नेकपाले राष्ट्रिय सभाको उम्मेदवार बनाए पछि सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ ।
घिमिरेसंग प्रदेश नं. ५ मा अपाङ्ग तथा अल्पसंख्यकबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई उम्मेदवार बनेका छन । यसैगरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सातै प्रदेशबाट राष्ट्रियसभाको उम्मेदवार छनौट गरेको छ ।
प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन् ।
प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल छन् । गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपाने उम्मेदवार छन् ।
कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । राष्ट्रियसभा सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । माघ ९ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । निर्वाचन कार्यक्रमअनुसार यही पुस २० गते उम्मेदवारी दर्ता हुनेछ ।
यो निर्वाचनमा प्रदेश सांसद, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

प्रकाशित मिति : १८ पुस २०७६ शुक्रबार ००:००  १२ : २९ बजे