१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री अस्पताल भर्ना



काठमाडौं ।
दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । सोमबार बेलुका उनी अस्पताल भर्ना भएका हुन् ।

१२ वर्षअघि भारतमा उनको पहिलोपल्ट मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

बुधबार उनलाई आफ्नी भान्जी नाता पर्ने समीक्षाले मिर्गौला दान गर्ने्छिन् । उनी पनि सोमबार नै अस्पतालमा भर्ना भएकी छन् ।

१२ वर्षअघि प्रधानमन्त्री ओलीका दुबै मिर्गौलाले काम गर्न छाडेपछि भारतमा गएर प्रत्यारोपण गरिएको थियो ।

२०६४ साउनमा उनको पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओलीले त्यसबेला नेपालमा प्रत्यारोपण गर्ने अवस्था नभएकाले भारतमा गर्नुपरेको बताएका छन् ।

अस्पतालमा भर्ना हुनुअघि भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको प्रत्यारोपण जटिल नभएको उल्लेख गर्दै आफ्नै मुलुकमा आफ्नै देशका चिकित्सकबाट प्रत्यारोपण गराउन पाउँदा खुसी लागेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर ढुक्क हुन आम नेपालीलाई आग्रह गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि भर्ना हुनुअघि एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले १२ वर्ष अघि आफ्नो मिर्गौला प्रत्यारोपण गरेको स्मरण गर्दै बुधबार फेरि पनि मिर्गौला प्रत्यारोपण गर्न लागेको बताए ।

उनले भने, “आफ्नै मुलुकमा, आफ्नै देशमा प्रत्यारोपण गराउन पाउँदा खुसी छु । खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन । मेरो स्वास्थ्यलाई लिएर ढुक्क हुनुस् । यसबीचमा सरकारका सबै काम नियमितरुपमा नै अघि बढ्नेछ ।”

उनको मिर्गौला प्रा.डा. प्रेम ज्ञवाली नेतृत्वमा रहेको चिकित्सकको टोलीले गर्नेछ ।

डा. रमेश सिंह भण्डारी, डा. दिव्या सिंहलगायतका चिकित्सक ज्ञवाली नेतृत्वको टोलीमा छन् ।

प्रधानमन्त्री ओलीको पहिलोपटक प्रत्यारोपण गरेका चिकित्सक पनि भारतबाट आइपुगेका छन् ।

६ दिनमा फर्किन सक्नुहुन्छः अस्पताल

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गरेर ६ दिनमा फर्किसक्ने अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको दोस्रो प्रत्यारोपण हुँदैछ ।

अस्पतालका निर्देशक प्रेमकृष्ण खड्काले पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओली पाँच–छ दिनमा फर्किहाल्ने बताए ।

“पाँचदेखि छ दिनमा उहाँ फर्किइसक्नुहुन्छ,” उनले भने ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६ सोमबार ००:००  ८ : ०५ बजे