विराटनगर ।
झापाको बिर्तामोडमा मंगलबारका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को १ नं. प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई कोरोनाको उच्च जोखिमको सूचीमा राखेसँगै सरकारले पनि सार्वजनिक सभा तथा सम्मेलन नगर्न सूचना जारी गरेपछि यसको असर नेकपाको कार्यक्रममा पनि परेको हो ।
नेकपा प्रदेश कमिटीका सदस्य तथा सुनसरी जिल्ला सचिव रमेश बस्नेतले भने, ‘‘कोरोनाका कारण सरकारले संवेदनशील भई भेला नगर्न सूचना जारी गरेपछि हाम्रो पार्टीको प्रशिक्षण स्थगित गरिएको हो ।’’ प्रशिक्षणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल झापा आउने तय भएको थियो । तर, पार्टी अध्यक्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म आएर पछि फर्किएका थिए ।
भेला तथा प्रशिक्षणमा प्रदेश १ का पार्टी केन्द्रीय नेताहरू, प्रदेश कमिटी सदस्यहरू र १४ वटै जिल्लाका सचिवालयका सदस्यसहित करिब एक हजार जना सहभागी हुने तयारी नेकपाको थियो । कतिपय सहभागी बाटोबाटै फर्किएको र केही झापा आएपछि फर्किएका थिए ।
प्रशिक्षणमा अध्यक्ष दाहालसँगै महासचिव विष्णुप्रसाद पौडेल, सचिवालय सदस्य रामबहादुर थापा बादललगायतका केन्द्रीय नेताहरू आउने बताइएको थियो । प्रशिक्षण अनिश्चितकालका लागि स्थगित भएको हो । प्रदेश राजधानी विराटनगरबाट बिर्तामोड पुगेर नेकपाका धेरै नेता दिउँसो फर्किएका थिए ।
२० फाल्गुन २०७६ मंगलबार ००:००
0
Shares







प्रतिक्रिया