१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सरकारले धनीलाई पोषण र जनतालाई शोषण गरेको छः नेतृ संग्रौला



नेपालगन्ज ।
कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डिला संग्रौलाले सरकार भष्ट्राचारलाई संस्थागत गर्दै कान्डैकान्ड गराउन सफल भएको आरोप लगाएकी छन् । ‘विकास पूर्वाधार खर्चमा १० रुपैयाँ वृद्धि गरेर सरकारले धनीलाई पोषण र जनतालाई शोषण गरेको छ’, उनले भनिन्, ‘जनता सिटामोल खान पाएका छैनन्, प्रधानमन्त्रीजी हेलिकप्टरमा जन्मदिन मनाउनुहुछ ।’
प्रेस युनियन बाँकेले मंगलबार गरेको पत्रकार भेटघाटमा नेता संग्रौलाले सरकारको समृद्धि, सुशासन नारामा मात्र सीमित रहेको जिकिर गरिन् । ‘सरकार एकपछि अर्को कान्डमा फस्दै आफै चर्चित भइरहेको छ’, उनले भनिन्, ‘कहिले गोकुलकाण्ड, कहिले केककाण्ड ।’
उनले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घटनामा सरकारले सत्य तथ्य छानबिन नगरेको आरोप लगाइन् । ‘प्रधानमन्त्रीजी नै आफैं बचाउ गर्दै हिँड्नुभएको छ’, उनले भनिन् ,‘प्रधानमन्त्रीजी आफैं न्यायाधीश बन्दै हुनुहुन्छ ।’
सरकारले प्रतिनिधिसभामा पराजित वामदेव गौतमलाई अघि सारेर असंवैधानिक, अलोकतान्त्रिक काममा अघि बढेको जिकिर गरिन् । उनले पार्टीको १४औं महाधिवेशनबारे बताउँदै विभाग गठन ढिला भएको स्वीकारिन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७६ मंगलबार ००:००  ६ : ४८ बजे