१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

औषधि खरिद प्रक्रियामा ढिलासुस्ती र अनियमितता गर्नेलाई बर्खास्त गरः कांग्रेस



काठमाडौं ।
नेपाली कांग्रेसले औषधि खरिद प्रक्रियामा ढिलासुस्ती र अनियमितता गर्ने कार्य माफी योग्य नभएको बताएको छ । यस्तो कार्यमा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गर्न सरकारलाई आग्रह गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरी अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याएको भन्दै त्यसको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताएका छन् ।

मेडिकल सामग्री खरिद प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेको एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको देउवाको आरोप छ ।
लकडाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्ट्राचार प्रकरणले सहजता पाउनसक्ने कांग्रेसको आशंका छ । त्यसैले सम्बन्धित संवैधानिक निकायले चनाखो भइ काम गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेस सबैखाले अनियमितता र बेथितिविरुद्ध निरन्तर उभिने, तर संकटसँग जुध्न निरन्तर सरकारको साथमा रहने देउवाको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६ शुक्रबार ००:००  ४ : ४९ बजे