८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भारतमा अप्रिल ३० सम्म लक डाउन हुनसक्ने



एजेन्सी ।
पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण बढिरहेको भारतमा लक डाउन दुई साता लम्बिने देखिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार गरेको भिडिओ कन्फरेन्सका क्रममा भारतका विभिन्न राज्यका मुख्यमन्त्रीहरूले लक डाउन कम्तिमा अप्रिल ३० सम्म थप्न सुझाव दिएका थिए। भारतमा कोरोनाको सबैभन्दा धेरै संक्रमण फैलिएको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले प्रधानमन्त्रीसँगको भिडिओ कन्फरेन्सपछि आफ्नो राज्यमा लक डाउन ३० अप्रिलसम्म जारी रहने बताएका छन्।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले पनि लक डाउन दुई साता लम्बिने प्रतिक्रिया दिएकी छन्। नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले त प्रधानमन्त्री मोदीले लक डाउन थप्ने निर्णय नै गरिसकेको बताएका छन्। भारतमा अहिले संसारकै सबैभन्दा ठूलो लक डाउन छ। मार्च २५ देखि भारतले १ अर्ब ३० करोड जनसंख्यालाई लक डाउनमा राखेको हो। लक डाउनका बाबजुद् भारतमा कोरोनाको संक्रमण भने दिनदिनै फैलिरहेको छ। भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट ४० जना मृत्यु भएको छ।
भारतका विभिन्न राज्यमा अहिलेसम्म २३९ जनाको मृत्यु भएको छ। बिबिसी हिन्दीका अनुसार भारतमा कोरोना संक्रमितको संख्या ७ हजार ७ सय ४७ पुगेको छ। तीमध्ये ६ हजार ५ सय ६५ जना अहिले पनि अस्पतालमै छन्।

प्रकाशित मिति : २९ चैत्र २०७६ शनिबार ००:००  ७ : २६ बजे