२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कविता ‘आमा’– पवन आचार्य



मायादेवी अनलाइन, चार नम्बर ।
मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन आज धेरैले आफ्नी आमाको खुसीको लागि आज सामाजिक संजालमा बिभिन्न सामाग्रीहरु प्रकाशन गरिरहनु भएको छ । यसै सन्दर्भमा कान्तिपुर रेडियोका समाचार प्रमुख तथा वरिष्ठ संचारकर्मी पवन आचार्यले आमाको ममता झल्कने कविता लेखेर फेसबुकमा पोष्ट गर्नुभएको छ । उहाँको कविता समय सान्दर्भिक ठानेर प्रकाशन गरिएको छ ।
आमा

कम्मरमा पटुकी बाँध्ने बेलामा
आमा भन्नुहुन्थ्यो– ढाड दह्रो बनाउँछ, मसक्कै बेर्नुपर्छु
तर,
अभर परेका बेला
नियतिले कोल्टे फेर्दा
रहर पूरा नभए खिन्न हुने सन्तानको मनलाई
दह्रैसँग ढाडस दिन
फुक्नैपथ्यो आमो त्यो पटुकी

कणकणमा भगवान छन् कि छैनन्
थाहा छैन मलाई
मेलाबाट फर्किंदा
फरियाको सप्कोमा बेरिएर आउने चिउरा
बाले झर्किएर पैसा छैनभन्दा
मायालु पारामा खुल्ने थैली
गल्ती गर्दा समेत छोरालाई नदुखोस् भनेर
ढाडमा मात्रै बर्सिने मोटो चप्पलमा
मैले देवताको बास देखेको छु
त्यसैले भनिएको होला
भगवान सबै ठाउँमा पुग्न नसक्नु नै
हामीलाई जन्मदिने आमाको सृष्टि हुनु हो

उमेरले आमाको ख्याल गर्नुपर्ने बेलामा पनि
आमा अझैं सन्तानकै पिरलो गर्नुहुन्छ
अबेर रातिसम्म घर नपुग्दा
आमा फोन गरेर भन्नुहुन्छ
काल बेला ठीक छैन बाबु छिट्ट घर आइज
अनि म बेलाबेला त्यही हप्की सुन्न
कामै नभए पनि अफिसमा बरालिएकै हुन्छु
जुनसुकै बेला घर पुग्दा पनि दैलो खोल्न भ्याउने आमा
मेरो मनको दैलोमा पनि हमेशा
मीठो मुस्कान र वात्सल्य बोकेर
उदाइ रहनु भएकै हुन्छ
जसरी
आमाप्रतिको हाम्रो अगाध स्नेह, माया र सम्मान
सूर्यको उज्यालोझैं मानवजगतकै शीरमाथि उदाइ रहेको छ
अनि म डराउँछु
आमाको अनुपस्थितिले यो संसार
झ्याप्प निभेको आशापछि निस्पट्ट अँध्यारोमा बिलय त हुन्न
त्यसैले आमा
तपाईं सधैं हाम्रो साथै हुनुपर्छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  ११ : ५६ बजे