२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

उपमेयरलाई कोरोना देखिएपछि सन्धिखर्क नगरपालिकाको सेवा बन्द



बिष्णु कुमार आले, अर्घाखाँची ।
सोमवार सन्धिखर्क नगरपालिकाका उपमेयरसहित ३१ जनामा संक्रमण पुष्टी भएपछि सन्धिखर्क नगरपालिकाले पछिल्लो १० दिन भित्र नगरपालिकामा आई नियमित काम गरेका सम्पूर्ण कर्मचारीहरु उच्च जोखिममा रहेको भन्दै होम क्वारेन्टिनमा छुट्टै कोठामा बस्न अनुरोध गरेको छ ।

मंगलवार सन्धिखर्क नगरपालिकामा कायर्रत कर्मचारीको स्वाव संकलन गरी परिक्षणको लागि पठाईने र पिसीआर रिपोर्ट नआउँदासम्म नगरपालिकामा पछिल्ला १० दिनसम्म नियमित कामकाजमा आएका सम्पुर्ण कर्मचारीलाई होम क्ववारेन्टिनमा छुट्टै कोठामा बस्न अनुरोध गरिएको हो ।

सो अवधिसम्म कार्यालयको सम्पुर्ण कामकाज तथा सेवा समेत बन्द रहने प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।

सोमवार पुष्टी भएका ३१ जनामा सन्धिखर्क नगरपालिकाका उपमेयर, सन्धिखर्क ६ का १३ जना र सन्धिखर्क ७ का १५ जना रहेका छन् । सन्धिखर्क ६ का भृकुटी आधारभुत विद्यालय र विद्या विनय आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।

७ नम्वर वडाका चन्द्र प्रभा मावि र आदर्श माविको क्वारेन्टाइनमा बसेका थिए । पाणिनी गाउँपालिका ७ को शिव मदन माविको क्वारेन्टाइनमा बसेका २० बर्षीय एक जना पुरूष र शीतगंगा नगरपालिका १० को जनजागृती माबि क्वारेन्टाइनमा बसेका १८ बर्षीय एकजना पुरूषमा कोरोना देखिएको थियो ।

संक्रमित सवैजनालाई सोमबार नै सन्धिखर्क नगरपालिकाको हटारीनेटामा रहेको आइसोलेसन भवनमा ल्याईएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले जानकारी दिए । उपमेयर भने होम क्वारेन्टिनमा वस्ने बताईएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७ सोमबार ००:००  १० : ४७ बजे