बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी-४ सार्वजनिक आधारभुत बिद्यालयमा क्वारेन्टाइनमा बसेका ५७ बर्षीय यम प्रसाद खनालको बुधबार बिहान उपचार गरेर फर्किनेक्रममा मृत्यु भयो । बुटवलबाट उपचार गरेर फर्कदै गर्दा उनको बाटो मै मृत्यु भएपछि शवलाई मालारानी लगियो ।
तर, जेठ २३ गते स्वाब झिकेर जेठ २४ गते परिक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाईएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । पिसीआर रिपोर्ट नआउँदै उनको मृत्यु भएपछि शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने अन्यौलता सृजना भयो । मृतकको रिपोर्ट पठाईदिन प्रदेश सांसद, संघीय सांसद तथा प्रशासनले पटक पटक प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ताकेता गर्दै सम्पर्क गरे । तर, मृतक खनालको पठाईएको स्वाबको नमुना स्वाब नै प्रयोगशाला भित्र नभेटिएपछि प्रयोगशालाको ल्यावमा एकखालको खटपट् सृजना भयो ।
यसले प्रयोगशाला माथि नै बिश्वनीयताको प्रश्न उब्जिएको छ । जेठ २४ गते मृतक खनालको स्वाबसंगै अन्य १० जनाको स्वाव एकैसाथ पठाईएको थियो । स्याम्पलको कोड नम्बर १२२१ देखि १२३० सम्म बिरामीको नाम ठेगाना सहित लेखेर पठाईएको थियो । तर, भैरहवा प्रयोगशालामा खोज्दा अरू ९ जनाको स्वाबको नमुना भेटिएको तर मृतक खनालको कोड नम्बर १२२४ रहेको स्याम्पलको नमुना नभेटिएको प्रयोगशाला श्रोतबाट खुल्न आएको छ ।
यसले अन्य बिरामीको स्वाबको नमुना ल्यापमा सुरक्षित छ वा छैन भन्ने कुराको पुष्टि गर्छ । प्रयोगशालाको यो ठुलो कमजोरी र चरम लापरबाही भएको मृतकका छोरा प्रकाश खनालले मायादेवीलाई बताए । परिक्षणका लागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी ४ खनकै रातुका चौरको प्रतिक्षालयमा शव राखिएको छ । शव कुरेर मृतकका आफन्त र स्थानीय बसेका छन् । स्वाब रिपोर्ट हराएपछि अन्तिम दाह संस्कारको काम पनि रोकिएको छ ।
भारतबाट आएका उनी विगत १४ दिनदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए । घाटीको सल्यक्रिया समेत गरेका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारको लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि बुटबल रिफर गरिएको थियो । बुटवलमा सामान्य उपचार पछि ज्वरो बसेको र घरमा गएर आराम गराउन अस्पतालले सल्लाह दिएपछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा बुधबार बिहान १० बजे मृत्यु भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यलयले पठाएको स्वाब प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहवामा नभेटिएपछि राति मृतक ब्यक्तिको स्वाब निकालेर परिक्षणका लागि पठाइसकिएको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताए ।
प्रयोगशालामा मृतकको स्वावको नमुना नभेटेपछि बुधबार राति स्वाब निकै कष्टपुर्ण रूपमा मृतकको शरिरबाट स्वाव छिकेर बिहीबार बिहान भैरहवा प्रयोगशालामा पठाईएको प्रजिअ पौडेलले बताए । उक्त रिपोर्ट नआउँदासम्म शवको दाहसंस्कार अन्यौलमा छ । पठाएको स्वाव स्यापलको नेगेटिभ पोजेटिभ रिपोर्ट आएको आधारमा सवलाई व्यवस्थापन गर्ने बताईएको छ ।
प्रदेश ५ मा तीन ओटा मात्र प्रयोगशाला भएकाले कोरोनाको चाँप बढ्न थालेपछि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा स्वाव नमुनाको चाङ लागेपछि बुधबार अर्घाखाँचीको २०९ जनाको स्वाव भरतपुर पठाईएको थियो ।
संक्रमितको संख्या बढ्दै जाने अर्को तर्फ नेपालभरी २० ओटा कोरोना प्रयोगशालाबाट स्वबको परिक्षण गर्दा धान्न नसकेपछि बिरामीको कतै स्वाव हराउने कतै रिपोर्ट आउन ढिला हुने भईरहेको छ । कोरोनाको बिरामीको चाँपलाई न्युनिकरण, नियन्त्रण गर्न नेपाल सरकारले नेपालका ७७ ओटै जिल्लामा पिसीआर प्रयोगशाला संचालनामा ल्याउन आवश्यक छ ।







प्रतिक्रिया